सूचनाको शक्ति - The Power Of Information

        

नेपालीको बाक्लो उपस्थिति रहेको कोरियामा कोरोना भाइरसको आतंक

सोल । दक्षिण कोरियाको राजधानी सोलदेखि ३०० किलोमिटर दक्षिणको ख्याङसान क्षेत्रमा पर्छ थेगु सहर । यही सहरमा काम गर्ने आङपासाङ शेर्पा केही दिनयता निकै बेचैन छन्, कारण सहरमा फैलिइरहेको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण । कोरियाको चौथो ठूलो सहर थेगुमा विभिन्न कम्पनीहरू छन् । कामका लागि कोरिया पुगेका विभिन्न देशका कामदारको यहाँ उल्लेख्य उपस्थिति छ ।

तर थेगुमा केही दिनयता ह्वात्तै फैलिएको कोरोना संक्रमणका कारण ती कामदार त्रासमा बसिरहेका छन् । थेगुमा शनिबार मात्रै २२९ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरियामा कोरोना संक्रमितको संख्या ४३३ पुगेको छ । थेगु नजिकैको छाङदोको छाङदो थेनाम अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ९ जना अस्पतालका कर्मचारी र १०२ जना भाइरसबाट संक्रमित भएका छन् ।

थेगु र छाङदोमा मात्रै ३५३ संक्रमित छन् । भाइरसको संक्रमण फैलिएपछि थेगु आसपासका कम्पनीले कामदारलाई बाहिर निस्कन प्रतिबन्ध लगाएका छन् । थेगुमा झन्डै २५ लाख मानिस बसोबास गर्छन् । थेगु र आसपासका क्षेत्रमा ७ हजार नेपाली ईपीएसमार्फत काम गरिरहेका छन् । भाइरसको संक्रमण बढ्दै जाँदा सहरमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको थेगुमै काम गरिरहेकी पार्वती वाइबाले बताइन् ।

‘हामीआज धेरै दिनपछि तरकारी किन्न निस्किएका थियौं । भनेजस्तो सामान नै नपाउने । पाउरोटीहरू पनि छैनन् । जे भेट्टायो त्यही लिएर आयौं । पहिलाजस्तो बजारमा सामान नै छैन,’ उनले गुनासो गरिन् । वेल्डिङको काम गर्ने शेर्पा दुई सातादेखि कम्पनीभित्रैको कोठामा सीमित छन् । ‘केही समयअघिसम्म फुर्सदका बेला घुम्न निस्किन्थें । साथीभाइसँग रमाइलो हुन्थ्यो,’ उनले भने, ‘नेपालीहरूसँग मनका कुरा गर्दा कम्पनीको कामको दुख बिर्सन्थें ।’

तर उनको फुर्सदको समय हाल केही फेरिएको छ । उनले केही खान मन लाग्यो भने कम्पनीमै भन्छन् । ‘यसो सोच्छु सुरक्षा अपनाउने आफ्नै लागि हो । केही समयपछि ठीक होला नि ?’ उनले आशा मारेका छैनन् । थेगुमात्रै होइन कोरोनाको त्रास भने कोरियाभरि नै उस्तै छ । छुङछन नाम्दोमा काम गर्ने रामजी श्रेष्ठलाई पनि कम्पनीले बाहिर निस्कन बर्जित गरेको छ ।

‘जताको समाचार सुन्दा पनि डर लाग्दो छ । हाम्रोतिर संक्रमित त भेटिएको छैन । तर नजिकैका फेन्थेक, सुवनतिरका मानिसमा संक्रमण भेटिएकाले अलि संवेदनशील बनेका होलान् ।’ केही कम्पनीले बिहान र बेलुकी ज्वरो नाप्ने नियम बनाएका छन् । मास्क प्रयोगमा पनि कम्पनीले कडाइ गरेका छन् । कम्पनीमा बाहिरी मानिसको आवतजावत भने बन्दजस्तै छ ।

सार्वजनिक स्थान शान्त

हरेक शनिबार बिहान निकै व्यस्त हुने इन्छन अन्तर्राष्ट्रिय एयरपोर्टमा मानिसहरू नगन्य मात्रामा देखिन्थे । कोरिया आउजाउ गर्ने यात्रुहरू खासै देखिएनन् । यात्रुहरूभन्दा बढी विभिन्न एयरलाइन्सका कर्मचारीको संख्या बढी देखिन्थ्यो । अत्यावश्यक पर्दामात्रै घर बाहिर निस्कन, अनिवार्य मास्क लगाउन तथा ३० सेकेन्डभन्दा बढी समय मिचेर हात धुन अनुरोध गरिएका सूचना रेल, गाडी र सार्वजनिक स्थल तथा सञ्चारमाध्यममा पनि छ्यापछ्याप्ती छन् ।

रेल स्टेसन, सार्वजनिक शौचालयमा हात धुनका लागि विशेष खालका साबुन राखिएका छन् । नेपाली जम्मा हुने सोलस्थित दोङदेमुनका नेपाली रेस्टुरेन्ट शून्य छन् । निक सेकुवा कर्नरका ध्यान राईले कतिपय कम्पनीका नेपालीलाई मागअनुसार कम्पनीमै खानेकुरा पठाउने गरेको बताए । कोरोना भाइरसको संक्रमण बढेसँगै ईपीएसमार्फत कोरिया आउनुपर्ने धेरै विदेशी कामदार आएका छैनन् ।

यहाँ भएका कामदारको भिसा अवधि सकिएर देश फर्कनुपर्ने भएपछि सरकारले नयाँ नियम ल्याएको छ । न्याय मन्त्रालयको शुक्रबार बसेको संयुक्त बैठकले अदक्ष कामदारका रूपमा आएका विदेशीको भिसा ५० दिन थप गर्ने निर्णय गरेको छ । मन्त्रालयको निर्णयअनुसार विदेशी कामदार अब ४ वर्ष १० महिनापछि पनि थप ५० दिन बस्न पाउने भएका छन् । मन्त्रालयका अनुसार कामदारले नजिकैको अध्यगमन कार्यालयमा वा अनलाइनमार्फत फारम भरेर भिसा अवधि थप गर्न सक्नेछन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतवार ०९:१३