सूचनाको शक्ति - The Power Of Information

        

खजुराका जेष्ठ नागरिकलाई विशेषज्ञ सेवा

बाँके । बाँकेको खजुरा गाउँपालिकाले सञ्चालन गरेको जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य शिविरमा एक हजार १८९ जेष्ठ नागरिकले सेवा लिएका छन् । खजुरा गाउँपालिकाका ८ वटा वडामा संचालन गरिएको विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविरमा सामाजिक सुरक्षामा सहभागी जेष्ठ नागरिकलाई घरदैलोमा पुगेर सेवा प्रवाह गरिएको थियो ।

गत फागुन ३ गतेदेखि वडा नं. १ राधापुरबाट शुरु भएको शिविर शनिवार रनियापुरको स्वास्थ्य चौकीमा समापन भएको छ । जेष्ठ नागरिकहरुमा मधुमेह, उच्चरक्तचाप, दम, पेटसम्बन्धी समस्या हाडजोर्नीलगायतका समस्या देखिएको शिविरमा संलग्न स्वास्थ्यकर्मीहरुले जनाएका छन् । शिविरमा क्यान्सर अस्पताल खजुराका डा.क्रिष्टिना नामोक श्रेष्ठ, भेरी अस्पतालका डा.जेनिस न्यौपाने, डा.शुभाष पौडेल, डा.विकास शाह, खजुरा स्वास्थ्य शाखाका प्रमुख पूर्ण खड्का नर्सिङ अधिकृत लक्ष्मी केसीलगायतका स्वास्थ्यकर्मी सहभागी भएर सेवा प्रवाह गरेका थिए ।

स्वास्थ्य शिविरमा आएका जेष्ठ नागरिकहरुमा १९ प्रतिशतमा उच्च रक्तचाप, १८ प्रतिशतमा हाडजोर्नी, १४ प्रतिशतमा पेटसम्न्धी र ११ प्रतिशतमा मधुमेहको समस्या देखिएको जनाइएको छ । रनियापुरमा भएको समापन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले मनसँग मन जोडेर स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बताइन् । उनले जेष्ठ नागरिक तथा खजुराबासीका लागि खजुरा गाउँपालिका स्वास्थ्य उपचारमा विशेष ध्यान दिँदै आएको बताइन् ।

उनले भनिन्, ‘स्वास्थ्य समस्याको कारणसँगै सचेतनाका कार्यक्रम सुरु गर्नुपर्छ ।’ खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले यस्ता शिविरहरुलाई अझै व्यवस्थित र प्रभावकारी ढंगले संचालन गर्न सबै पक्षको सहयोग र समन्वय रहेको ओल्याए । कार्यक्रममा डा. जेनिस न्यौपाने, स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर खड्काले स्वास्थ्य शिविर प्रभावकारी भएको बताएका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार १९:१४