सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज एक्कासी किन रोकियो ?

काठमाडौं । काठमाडौंबाट नेपालगन्ज आउने तयारीमा रहेको श्री एयरलाइन्सको जहाजमा ‘गम्भीर समस्या’ आएको भन्दै अन्तिम समयमा उड्नबाट रोकिएको छ । आज बिहान साढे आठ बजे श्री एयरलाइन्सको जहाज नेपालगन्ज उड्ने तयारीमा थियो । तर, एयर होस्टेसहरुले जहाजमा बसिसकेका यात्रुहरुलाई हतारहतार ओरालेका थिए ।

इन्जिन स्टार्ट गरेर पाइलटले विमानस्थल टावरबाट उड्ने अनुमतिसमेत लिइसकेका थिए । ‘तर, एक्कासी एयर होस्टेजहरुले सिरियस प्रोबलम आयो छिटोछिटो ओर्लिनुस् भनेर हामीलाई ओराले,’ एक जना यात्रुले भने । जहाजसम्म पुग्नका लागि बोर्डिङ पास लिएर बसमा बसेका यात्रुहरु कस्तो खालको प्राविधिक समस्या हो भन्नेबारेमा जानकारी भने दिइएको छैन ।

श्री एयरलाइन्सका महाप्रबन्धक अनिल मानन्धरले प्राविधिक समस्या आएर उडान रोकिएको र मर्मतको काम भइरहेको जानकारी दिए । उनले पनि केमा समस्या आएको हो भनेर खुलाउन चाहेनन् । मानन्धरले भने, ‘सुरक्षालाई त ध्यान दिनुपर्यो नि ? त्यही भएर केहीबेर डिले भएको छ ।’ महाप्रबन्धक मानन्धरले प्राविधिक समस्या सुल्झिएमात्रै उडान हुने जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार १०:४६