चार बर्षअघि कालिकोटको चिलखाँयामा दुर्घटनामा एयर काष्ठमण्डपको ‘प्याक–७५० एक्सएल’ सिंगल इन्जिन जहाज । फाइल तस्वीर
बाँके । एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटना हुँदै गर्दा यात्रुहरुलाई अन्तिम सन्देश दिँदै भनेका थिए, ‘नआत्तिनुहोस् हामी मरेर पनि तपाईहरुलाई बचाउँछौं ।’ २०७२ साल फागुन १४ गते कालिकोटको चिलखाँयामा फोर्स ल्यान्डिङ गर्ने क्रममा एयर काष्ठमण्डपको जहाज दुर्घटनामा पर्यो ।
दुर्घटनामा सबै यात्रु बाँचे, तर क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाले ज्यान गुमाए । नेपालगन्जबाट जुम्लाका लागि उडेको जहाजको इन्जिन फेल भएपछि फोर्स ल्यान्डिङ गर्ने क्रममा भएको दुर्घटनामा यात्रुहरुलाई पुनःजन्म दिँदै चालकद्वयले चिलखाँयामै आफ्नो जीवन बिसाए ।
‘प्याक–७५० एक्सएल’ सिंगल इन्जिन जहाज उडेको ३० मिनेटपछि दैलेखको हाउडेलेक आसपास पुग्दा प्राविधिक समस्या आएर इन्जिनले पूर्णरुपमा काम गर्न छोड्यो । क्याप्टेन न्यौपानेले इन्जिनलाई पुनः सञ्चालन गर्ने प्रयास सम्भव भएन । पाइलटले जहाज ग्लाइड (बेलुनजस्तै उडाएर) गरेर नजिकै फोर्स ल्यान्डिङ्गका लागि उपयुक्त ठाउँ खोजे ।
कालिकोटको चियाखाँयामा विमानलाई फोर्स ल्यान्डिङ गराउँदा भिरालो जमिन र काल्नासहितको गराका कारण विमान भित्तामा ठोक्किएर दुर्घटनामा पर्यो । इन्जिनमा समस्या भएपछि ‘इमर्जेन्सी पोर्सिडियर’अन्तरगत विमानलाई करिब पाँच मिनेट ग्लाइड गरेर ८ नटिकल माइल दूरी पार गराउन सफल भए पनि पाइलटद्वयले आफ्नो मृत्युलाई भने जित्न सकेनन् ।
विमानको अगाडिको भाग ठोक्किएपछि क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष राना ककपिटमै किच्चिए । क्याप्टेन न्यौपानको तत्कालै निधन भयो भने को–पाइलट रानाको उद्दारमा ढिलाइ हुँदा करिब डेढ घन्टापछि निधन भयो । पाइलट दिनेश न्यौपाने र को–पाइलट राना आफू मरेर पनि जहाजमा सवार एक नावालकसहित ९ जनाको ज्यान भने जोगाउन सफल भए ।
जहाजको इन्जिनभित्र रहेका ६ वटा बेरिङमध्ये पहिलो नम्बरको बेरिङ ड्यामेज हुँदा इन्जिन फेल भएको तत्कालिन छानबिन आयोगको प्रतिवेदनले देखाएको छ । ‘आफु मरेर अरुलाई बचाउने दिनेश न्यौपाने’ले पाइलट कोर्स साउथ अमेरिका र सिनियर क्याप्टेनको तालिम अमेरिकामा लिएका थिए । यात्रुलाई जीवन दान दिएका न्यौपाने र रानाले बीर पदक पाए ।
चालकद्वयकै सम्मानमा नेपालगन्ज–२० मा रहेको राँझा चोकलाई पाइलट चोकका रुपमा नामाकरण गरियो । उपमहानगरपालिकाको सहयोगमा क्याप्टेन दिनेश प्रतिष्ठानले राँझा चोक पश्चिमतर्फ शालिक निर्माण गर्ने तयारी गर्यो । राँझा चोक पाइलट चोकमा रुपान्तरण भएपछि शिलान्यास पनि भयो । महीना नबित्दै शिलान्यास गरिएको ठाउँबाट एकाएक बोर्डहरु हटाइयो ।
उपमहानगरपालिकाले बाटिका, प्रतिक्षालयसहित क्याप्टेनद्वयको शालिक राख्नका लागि १० धुर जग्गा उपलब्ध गराएको छ । चालक दिनेशका बुवा मानदत्त न्यौपानेले भने, ‘दुखमा रहेका हामीलाई त्यतिबेला झुठो आश्वासन दिइयो । अहिले राँझा चोकमा दुई पाइलटको शालिक राखेर नामाकरण गर्ने बिषयमा राजनीति गर्न खोजिएको, हामीसँग पैसा असुल्न खोजियो ।’
नेपालगन्ज–१२ मुक्तिपुर निवासी क्याप्टेन दिनेश र पाल्पा निवासी को–पाइलट रानाको शालिक राख्ने विषय केही समस्या देखिएको दिनेशका बुवा मानदत्तले बताए । उनले भने, ‘हामीलाई शालिक मात्र राख्न दिए हुन्छ, नाम राँझा चोक नै भए पनि हामीलाई गुनासो छैन ।’ शालिक निर्माणमा भएको ढिलाईप्रति घरपरिवार, शुभेच्छुक र आफन्तले गुनासो गरेका छन् ।
आफ्नो पेशाप्रति इमानदारिता देखाई बहादुरीपूर्वक जहाजमा रहेका सबै यात्रुलाई सुरक्षित राखेर आफुले बीरगति प्राप्त गर्ने चालक र सहचालकको योगदानलाई राजनीतिसँग जोडेर विवाद निम्त्याउन खोजेको बुवा मानदत्तको आरोप छ । उनले भने, ‘क्रिया खर्च भनेर त्यतिबेला एयरलान्यसबाट रु.एकलाख पाएका थियौं, त्यसपछि कुनै क्षतिपूर्ति पाएका छैनौं ।’
चालकद्वयका शालिक अहिले पनि त्यसै थन्किएका छन् । ‘करिब रु.सात लाख खर्चेर निर्माण गरिएका शालिक थन्किएका छन्,’ मानदत्तले भने, ‘बाटिकाको नाम जे भए पनि शालिक राख्न पाए हामीलाई सन्तोष हुने थियो । जसले अरुको ज्यान बचाएर आफ्नो जीवनलाई विश्राम दिए उनैको अपमान गरिएको छ ।’
बाटिका बनाउने भनिएको शालिक निर्माणस्थललाई हाल सद्भाव वाटिका लेखिएको छ । २०७३ जेठ १५ गते नेपाल सरकारले चालकद्वयलाई शहिद घोषणा गरी मरनोपरान्त बीर पदकले सम्मान गरेको थियो भने २०७२ साल चैत्र ४ गते पाइलट चोक नामाकरण भयो । जहाज उडाउन थालेको आठ बर्षमै न्यौपानेले दुर्घटनामा ज्यान गुमाएका थिए ।
सत्यपाटी ।