सूचनाको शक्ति - The Power Of Information

        

एमसीसी अध्ययन कार्यदल : यथास्थितिमा पारित गर्न नहुने निष्कर्ष

काठमाडौं । एमसीसी अध्ययन कार्यदलले यथास्थितिमा एमसीसीको नेपाल कम्प्याक्ट संसदबाट पारित गर्न नहुने निष्कर्ष निकालेको छ । अध्ययनका लागि दोस्रो पटक १० दिन समय पाएको कार्यदलले नेकपा अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त निष्कर्षसहित प्रतिवेदन शुक्रबार बुझाएको हो ।

स्रोतकाअनुसार कार्यदलले पहिले र दोस्रोपल्ट गरी पाएको २० दिनको अध्ययनको यो निष्कर्ष छ । कार्यदलले यो निष्कर्ष निकाले पनि प्रधानमन्त्री ओली र कार्यदलको सदस्यसमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कार्यदलको काम अध्ययन गर्ने मात्रै भएको, ससदबाट पेश भइसकेको एमसीसी सभामुखले टेबल गरेको दिन पास हुने बताएर कार्यदलको औचित्य समाप्त भएको सन्देश दिइसकेका छन् ।

एमसीसी अमेरिकी इन्डो प्यासिफिक रणनीतिको अग भएको र यथास्थितिमा एमसीसी पास गर्न नहुनेमा नेकपा केही नेताहरूले अडान लिएपछि त्यसबारे स्पष्ट हुन कार्यदल गठन गरिएको थियो । उक्त कार्यदल यही माघ १९ गते नेकपाको केन्द्रीय कमिटी बैठकको समापनका दिनमा गठन गरिको थियो । नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलको सदस्यहरुमा मन्त्री ज्ञवाली र नेता भीम रावल छन् ।

खनालले एमसीसी संशोधन गरेर मात्रै पास गर्नु पर्ने मान्यता दोर्होयाउँदै आएका थिए भने रावलले यो अमेरिकी इन्डोप्यासिफिक रणनीतिको अंग भएकाले पास गर्न नहुने मत राख्दै आएका थिए । मन्त्री ज्ञवालीको भने सुरु देखिनै यो नेपालको हितमा भएको संसदबाट छिटोभन्दा छिटो पारित गर्नु पर्ने बताउँदै आएका थिए । योबीचमा प्रधानमन्त्री ओलीले एमसीसीका सहायक प्रमुखलाई छिटोभन्दा छिटो त्यो पारित गर्ने आश्वासन दिएर पठाएका थिए । अमेरिकीहरुले यो सशोधन गरेर पास गरेमा आफुहरुलाई मान्य नहुने बताएका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार १८:५६