काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेल यतिबेला ‘कमेडी च्याम्पियन’ रियालिटी शोको निर्णायकका रूपमा काम गरिरहेका छन् । उक्त कार्यक्रमको स्टेजमा पुगेपछि गजुरेलले प्रयोग गर्ने ‘करोड’ शब्द बजारमा चर्चित छ ।
प्रतियोगितामा प्रतियोगीले राम्रो पन्चलाइन सुनाउनसाथ उनी करोड, करोड भन्दै प्रतिस्पर्धीलाई हौस्याइ रहन्छन् । गजुरेलबाट चर्चामा रहेको करोड शब्दले यतिबेला नयाँ रुप लिएको छ । सेक्युरिटी प्रेस खरिदसम्बन्धी सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ‘विवादास्पद’ अडियो सार्वजनिक भयो ।
यही विषयलाई लिएर यतिबेला ‘करोड’ शब्द झनै चर्चामा आएको छ । कलाकार मनोज गजुरेलले आफ्नो फेसबुकमा करोडको नयाँ जोक्स पोस्ट गरेका छन् । उनले च्याम्पियनका प्रतियोगीलाई सुझाव दिएको शैलीमा लेखेका छन्,
‘करोड–करोड भन्नी तर सुको नदिनी’ भन्थ्यौ नि गाइज, लिनी तरिका सिक मन्त्रीज्यूबाट । उहाँको कमिसनको कन्टेन्टमा जोक थिएन । ‘जिम्मेवार’ भन्ने ‘पन्चलाइन’ पनि बिजोग थियो । तर, त्यही लाइनबाट झण्डै ७० करोड हान्दिए ।’ अन्तमा गजुरेलले कमेडी च्याम्पियनका अन्तिम प्रतिस्पर्धीहरूलाई पोस्ट ट्याग गर्दै ह्यासट्यामा लेखेका छन्, ‘राजीनामा देऊ, अनुसन्धानलाई सघाऊ, देश बचाऊ ।’
त्यस्तै उनले अर्को पोष्ट गरेका छन्, ‘वाद–बिचार–सिद्धान्तका दर्जनौं फुलबुट्टा हैन, भ्रष्टाचार अन्त्य गर्न एउटै मन्त्र काफी छ, ’एकदिन सबैले मर्नुपर्छ र, मैले पनि !’ तर यो मन्त्र सुनेर–जानेर–बुझेरमात्र हुन्न, आत्मा, मन र शरीरले बोध गर्नुपर्छ, थाहा पाउनुपर्छ । शरीरका एकएक कोशिकाहरु कम्पित हुनुपर्छ ।’ अन्तमा पोस्ट ट्याग गर्दै लेखेका छन्, ‘७० करोड ।’
सत्यपाटी ।