सूचनाको शक्ति - The Power Of Information

        

गोकुल बास्कोटा अख्तियारको निगरानीमा

काठमाडौं । भ्रष्टाचारको आरोप लागेर राजीनामा दिएका पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा परेका छन् । सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएर बास्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानीमा राखेको हो । ७० करोडको कमिसन डिल गरेको अडिओ सार्वजनिक भएपछि छानविनमा सघाउन भन्दै बास्कोटाले राजीनामा दिएका थिए ।

यस प्रकरणसँग सम्बन्धित तथ्य र प्रमाण नष्ट हुनसक्ने खतरा ध्यानमा राख्दै अख्तियारले पूर्वसञ्चारमन्त्री बास्कोटालाई निगरानीमा राखेको स्रोतले जनाएको छ । बास्कोटासँग छिट्टै अख्तियारले बयान लिने तयारी गरिरहेको पनि बताइएको छ । उनले राजीनामा दिएपछि उनको कार्यकक्ष र सचिवालयमा रहेका महत्वपूर्ण कागजात अख्तियारले कब्जामा लिइसकेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार १७:०३