सूचनाको शक्ति - The Power Of Information

        

आज महाशिवरात्री पर्व : ११७ वर्षपछि शनि र शुक्रको दुर्लभ योग

काठमाडौं । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज (शुक्रबार) देशभर मनाइँदैछ । शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७ बजेसम्म छ ।

मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले यसै दिन महाशिवरात्री पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगतको कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्री मनाउने गरिएको हो भन्ने भनाइ छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्व्सिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ ग्रहण गरिन्छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार पहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

आजको दिन ११७ वर्षपछि शनि र शुक्रको दुर्लभ योग बनिरहेको छ । भारतका ज्योतिषाचार्य पण्डित मनिष शर्माका अनुसार शिवरात्रीमा शनि आफ्नो घरराशी मकरमा र शुक्र आफ्नो उच्च राशी मीनमा रहेको छ । यो दुई वटै ठूला राशी शिवरात्रीमा यस्तो स्थितिमा रहनु दुर्लभ योग हो । यो भन्दा पहिले सन् १९०३ को फेब्रअरी २५ मा यस्तो योग बनेको थियो । पण्डित शर्माका अनुसार शिवरात्रीमा गुरु पनि आफ्नो स्वराशि धनु राशिमा रहन्छन् ।

२१ फेब्रुअरीको सर्वार्थ सिद्धि योग पनि पर्नेछ । पूजाआजा र नयाँ कामको सुरुवातको लागि यो समय निकै शुभ मानिन्छ । यस दिन शनि चन्द्रको विष योग बन्छ । यो दुवै ग्रह मकर राशीमा रहन्छन् । बुध र सूर्य कुम्भ राशीमा एक साथ रहन्छन् । जसले बुध–आदित्य योग बन्छ । यो दिन मिथुन राशीमा राहु र धनु राशीमा केतु रहन्छ । शेष सबै ग्रहको राहु–केतुको बीचमा रहन्छन् । जसले सर्प योग बन्छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार ०८:०१