सूचनाको शक्ति - The Power Of Information

        

१२ किलो चरेशसहित कोहलपुरका आरसी पक्राउ

बाँके । बाँकेको कोहलपुर नगरपालिका–१२, चप्परगौडी निवासीबाट ठूलो मात्रामा चरेशसहित एकजनालाई नियन्त्रणमा लिइएको छ । प्रदेश ५ प्रहरी ब्यूरोको टोलीले १२ किलो लागुऔषध चरेशसहित एकजनालाई नियन्त्रणमा लिएको हो ।

३२ वर्षीय आकाश आरसीलाई आज दिउँसो साढे २ बजे चरेशसहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी व्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले जानकारी दिए । क्षेत्रीको नेतृत्वमा खटेको प्रहरीको विशेष टोलीले पहेलो वस्तुले प्याक गरेको अवस्थामा एक/एक किलोका १२ वटा प्याकेट चरेश बरामद गरेको हो ।

प्रहरी निरीक्षक क्षेत्रीका अनुसार बरामद लागुऔषध चरेशसहित पक्राउ परेका आरसीलाई आवश्यक अनुसंन्धानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाइएको छ । बाँके प्रहरीले चालु आर्थिक वर्षको माघ महिनासम्म १०८ मुद्दामा ६ भारतीय नागरिकसहित १६० लागुऔषध कारोबारीलाई पक्राउ गरिसकेको छ ।

चालु आवको हालसम्म ६०८ ग्राम ७४५ मिलिग्राम ब्राउनसुगर, ९९० ग्राम चरेश, चार किलो अफिम, चार किलो ७७५ ग्राम गाँजा, ३०० एमएल कोरेक्स, दुई हजार ६१२ ट्याब्लेट नाईट्राजेपाम, २१० पिस ट्रामाटस र २९५ पिस एम्पुल बरामद भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार १७:३७