सूचनाको शक्ति - The Power Of Information

        

अढाइ मिनेटको अडियोमा सञ्चारमन्त्री बाँस्कोटाले छाडा बोलेपछि…

काठमाडौं । ‘पत्रकारले आफ्नी आमालाई तिमी भन्छन्’ यो आरोप हो, प्रधानमन्त्री केपी शर्मा ओलीको । प्रधानमन्त्री ओलीकै क्याबिनेटका एक मन्त्रीले त यस्तोसम्म बोलिदिए, जसलाई लेख्न पनि मिल्दैन, भन्न पनि मिल्दैन ।

प्रधानमन्त्री ओलीले मात्र होइन, स्वयं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले समेत आफ्ना हरेक भाषणमा पत्रकारलाई सभ्यता र व्यवसायिकताको पाठ पढाउँदै आएका छन् । पत्रकारले कसरी लेख्नुपर्छ मात्र होइन, कसरी सोच्नुपर्छ र कसरी आँखा झिम्क्याउनुपर्छ भन्नेसम्मका पाठ मन्त्री बाँस्कोटाले भाषणमा सिकाउने गरेकै छन् ।

तर, अरुलाई सभ्यता सिकाउने मन्त्री बाँस्कोटा आफैंले मु…भन्ने गरेको खुलेको छ । हालै सार्वजनिक भएको अढाइ मिनेटको अडियोमा मात्रै मन्त्री बाँस्कोटाले दुईपटक मु…भनेका छन् । सुरक्षण प्रेस खरीद प्रकरणमा स्वीस एजेन्टसँग सञ्चारमन्त्री गोकुल ७४–७५ करोड कमिसनको कुरो गरेको प्रकरणसम्बन्धी अडियो यतिबेला भाइरल बनेको छ ।

कमिसन लेनदेन भएको हो वा हैन भन्ने पक्षविपक्षका तर्कहरु आइरहेका छन् । तर, अडियोमा बोलिएको छाडा शब्दका बारेमा न मन्त्री बाँस्कोटाले कुनै जवाफ दिएका छन, न त उनका समर्थकहरुले नै । मन्त्रीजस्तो गरिमामय पदमा बसेको मानिसले सभ्य समाजले पचाउनै नसक्ने छाडा शब्द बोल्नु सामाजिक मर्यादा विपरीत कुरा हो ।

मन्त्री बाँस्कोटाले कमिसन मागे या मागेनन् ? उनले घुस खाए खाएनन् ? यो अनुसन्धानबाट प्रमाणित हुनुपर्ने विषय हो । तर, मन्त्रीले जुन शब्द बोलेका छन्, त्यो उनकै मुखबाट आएको हो भने यो विल्कुलै पाच्य विषय होइन । सम्भवतः मन्त्री बाँस्कोटाले अब सार्वजनिक मञ्चबाट कमिसन प्रकरण सम्बन्धी अडियोबारेमा आफ्नो स्पष्टीकरण पक्कै देलान्, दिइरहेकै छन् ।

यसमा उनी दोषी सावित होलान्, या चोखिन पनि सक्लान् । तर, यो गम्भीर सांस्कृतिक प्रश्न पनि त उनीमाथि उठेकै छ, जसबाट उनले जवाफ नदिई उम्कन मिल्दैन । के अब मु…शब्द प्रयोग गरेवापत मन्त्री बाँस्कोटाले सार्वजनिकरुपमा माफी माग्ने हिम्मत गर्लान् ?

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार १५:३२