सूचनाको शक्ति - The Power Of Information

        

मुस्लिम छात्रा लक्षित नेपालगन्जमा गर्ल्स स्कूलको भवन शिलान्यास

बाँके । नेपालगन्जको सल्यानी बंगलामा रहेको श्री आधारभूत विद्यालयमा छात्राहरुलाई मात्रै पढाउन शुरु गरिएको छ । पुरानोमध्येको यो स्कूलमा छात्रलाई अन्यत्र सारेर नेपालगन्ज उपमहानगरपालिकाको अगुवाईमा छात्रालाई मात्रै पढ्ने व्यवस्था मिलाइएको हो । नेपालगन्जका मेयर डा.धवलशमशेर राणाले यो स्कूललाई छात्रा स्कूल हुँदै कलेजको रुपमा विस्तार गर्ने बताइरहेका छन् ।

बुधबार स्कूलको १८ कोठे भवनको शिलान्यास गरिएको छ । दुई करोडको लागतमा बन्न थालेको तीन तले भवनको मेयर राणाले शिलान्यास गरे । मेयर राणाले असार मसान्तभित्र काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । भवन शिलान्यासमा वडा नं. ४ का वडाध्यक्ष सफिक बेहनालगायत सदस्यहरु उपस्थित थिए । श्री आधारभूत विद्यालयमा अहिले दुई सय बढी छात्राहरुले पढिरहेका छन् ।

आठ कक्षासम्म पढाइरहेको स्कूलसम्बद्ध किरण आचार्यले जानकारी दिइन् । मेयर राणाको चुनावी घोषणापत्रमा छात्रा कलेज बनाउने उल्लेख गरिएको थियो । विशेष गरेर मुस्लिम समुदायका बालिकाहरु मदरसामा पढेपछि माथिल्लो कक्षा पढ्न अरु स्कूलमा नजाने देखिएकाले उनीहरुलाई मध्यनजर गरेर छात्रा स्कूल हुँदै कलेज बनाउन थालिएको हो । छात्रा स्कूलमा आगामी वर्षदेखि ९ र १० कक्षा पढाउने तयारी भएको छ । आचार्यले प्राविधिक शिक्षामा जोड दिने रणनीति बनाएकी छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार १६:४१