सूचनाको शक्ति - The Power Of Information

        

देशभरबाट उत्कृष्ट आलेख समाचारदातामा बाँकेका काशीराम शर्मा पुरस्कृत

राष्ट्रिय समाचार समितिको ५९औँ वार्षिकोत्सव

काठमाडौं । नेपाल पत्रकार महासङ्घ राष्ट्रिय समाचार समिति (रासस) प्रतिष्ठान शाखाद्वारा स्थापित यस वर्षको ‘रासस पत्रकारिता पुरस्कार’ वरिष्ठ कार्यकारी सम्पादक दिलीप अधिकारी र वरिष्ठ समाचारदाता प्रभाषचन्द्र झालाई प्रदान गरिएको छ । राससको ५९औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सो पुरस्कार प्रदान गरेका हुन् ।

पुरस्कारको राशी जनही रु १० हजार र सम्मानपत्र रहेको छ । शाखाले यस वर्ष राससका पूर्वसम्पादक धर्मप्रसाद थापालाई ‘पूर्वकर्मचारी सम्मान’ प्रदान गरेको छ । शाखाले हरेक वर्ष प्रदान गर्दै आएको यस वर्षको ‘उमाकान्त–गीतादेवी–चन्द्रमणि रजौरे स्मृति पत्रकारिता पुरस्कार’ रुकुमपूर्वकी जिल्ला समाचारदाता सर्जना कार्कीलाई प्रदान गरिएको छ । रासस दाङ कार्यालयका प्रमुख नारायणी रजौरेले आफ्ना पिता–माता र भाइका नाममा सो पुरस्कार स्थापना गरेकी हुन् ।

पुरस्कारको राशी रु सात हजार ५०० नगद र प्रमाणपत्र रहेको छ । रासस कर्मचारी सङ्घले प्रदान गर्ने यस वर्षको ‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ अङ्ग्रेजी समाचार शाखा प्रमुख दीपराज सन्याल र कार्यालय सहयोगी रामचन्द्र बस्नेतलाई प्रदान गरिएको छ । पुरस्कारको राशी जनही पाँच हजार रुपैयाँ रहेको छ । त्यसैगरी एकीकृत नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रासस शाखाद्वारा स्थापीत ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ समाचारदाता (कास्की) हरिप्रसाद बास्तोला र सम्पादन सहयोगी विष्णुप्रसाद लामिछानेलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु.पाँच हजार ५५५ रहेको छ ।

त्यसैगरी राष्ट्रिय समाचार समिति (रासस)ले सातै प्रदेशका आफ्ना स्थानीय समाचारदातालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश नं १ का भोजपुर समाचारदाता युवराज विष्ट, २ नं महोत्तरीका सञ्जीतकुमार मण्डल, वाग्मती प्रदेशका रिपेश दाहाल, गण्डकी प्रदेशकी जमुनावर्षा शर्मा, ५ नं परासीका मोहन पौडेल, कर्णाली प्रदेश जाजरकोटका हेमन्त केसी र सुदूरपश्चिमको डोटीका विमलबहादुर विष्टलाई पुरस्कृत गरेको छ । उनीहरुलाई राससको ५९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा आज आयोजना हुने कार्यक्रममा सो पुरस्कार वितरण गरिएको छ । उनीहरुले जनही रु १५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै देशभरबाट उत्कृष्ट आलेख समाचारदातामा बाँकेका काशीराम शर्मा (सारङ्गीको धूनमा विकास र चेतना), तस्वीरमा केन्द्रीय कार्यालयका रोशन सापकोटा र श्रव्य सामग्रीमा केन्द्रीय कार्यालयकै उपसमाचारदाता नारायण ढुङ्गानालाई पुरस्कार प्रदान गरिएको छ । उनीहरुलाई पनि जनही रु १५ हजार र प्रमाणपत्र प्रदान गरिएको छ । यसअघि उत्कृष्ट समाचारदाता, आलेख समाचारदाता, फोटोग्राफर र श्रव्य सामग्री सङ्कलकलाई जनही रु पाँच हजार दिने गरिएको थियो । त्यसैगरी बुद्धिचाल प्रतियोगितामा प्रथम हुने जगतकृष्ण श्रेष्ठ र द्धितीय हुने प्रितम भट्टराई तथा म्युजिकल चियर प्रतियोगितामा प्रथम हुने नवीन पौडेललाई समेत पुरस्कार प्रदान गरिएको छ । रासस

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार १५:५२