सूचनाको शक्ति - The Power Of Information

        

समयमै काम नहुँदा विद्युत आयोजना अलपत्र

प्यूठान । नेपाल विद्युत् प्राधिकरण दम्ती सवस्टेशनको वितरण लाइन निर्माणको काम नहुँदा आयोजना अलपत्र परेको छ । सवस्टेशन वितरण लाइनको काम समयमा सम्पन्न हुन नसक्दा नेपाल विद्युत् प्राधिकरणको जिल्लामा रू.५ करोड लागतको आयोजना अलपत्र परेको छ ।

सवस्टेशनमा वितरण लाइनका लागि हुनुपर्ने काम समयमै नहुँदा आयोजना सञ्चालन हुन नसकेको नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन कार्यालय नेपालगन्जका इञ्जिनीयर ज्ञानबहादुर फर्सालले बताए । आरके इन्टरनेशन नेपाल काठमाडौंले गत भदौमा काम सक्ने गरी ठेक्का लिएको थियो ।

फर्सालले भने, ‘ठेकेदार कम्पनीले समयमै काम गरेको भए आयोजना सञ्चालनमा आइसक्थ्यो ।’ विद्युत् भार कटौती मुक्त जिल्लाका रुपमा रहेको प्यूठानमा बारम्बार विद्युत् अनियमिताको समस्या देखिनुको मुख्य कारण सवस्टेशन नहुनु रहेको नेपाल विद्युत् प्राधिकरणका प्रमुख जयनन्द बोगटीले बताए ।

विद्युत् प्राधिकरणले आयोजना सम्पन्न गर्न विसं २०७७ वैशाख मसान्तसम्म म्याद थप गरेको छ । लाइन विस्तारका लागि गाडिएका पोलसमेत ढलेका छन् । ठेकेदार कम्पनीले आयोजना समयमै सक्ने विषयमा चासो दिएको पाइँदैन । रासस

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार १३:४८