सूचनाको शक्ति - The Power Of Information

        

अब दाङमै संस्कृतमा विद्यावारिधि कक्षा

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रले दाङबाटै आफ्नो काम सुरु गरेको छ । विश्वविद्यालय स्थापनासँगै स्थापना भएको अनुसन्धान केन्द्र विभिन्न बहाना र कारण देखाउँदै काठमाडौंमै कार्यालय स्थापना गरी काम गर्दै आएकोमा यस वर्षदेखि दाङमा कार्यालय सारेर काम सुरु गरेको हो । अनुसन्धान केन्द्रले काम सुरु गरेसँगै विद्यावारिधि (पिएचडी) कक्षाको पढाईसमेत दाङमै हुन थालेको छ ।

विश्व विद्यालयको केन्द्रीय कार्यालय रहेको स्थानबाट नै अनुसन्धान केन्द्र पनि सञ्चालन हुनुपर्ने माग लामो समयदेखि उठ्दै आएको थियो । तर पनि त्यो पुरा हुन नसक्दा काठमाडौंबाटै अध्ययन केन्द्रको काम गत वर्षसम्म भइरहेको थियो । मन्त्रिपरिषदको निर्णय, विद्यार्थी संगठन, विश्वविद्यालय कर्मचारी, केही पदाधिकारीको पहलमा दाङमा केन्द्र स्थापना गरी काम सुरु गरिएको हो । लामो समयको रसाकसी पछि दाङबाट अध्ययन केन्द्रले दाङको बेल्झुण्डीबाट पढाई थालेपछि विद्यार्थी समेत खुशी भएका छन् ।

दाङका शुरु भएपछि काठमाडौंबाट दाङमा विद्यावारिधि गर्न आएका विद्यार्थी उदयराज अधिकारीले आफू निकै खुशी भएको बताए । उनले केन्द्रीय कार्यालय दाङमा महेन्द्र संस्कृत विश्वविद्यालय देखिको पुस्तकालय रहेको र त्यहाँ प्राचीन पुस्तक चाहेको पढ्न पाउँदा एकदमै खुशी भएको बताए । ‘यदि काठमाडौंमा यो पढाई पढेको भए यो सेवा पाउन सकिँदैथ्यो होला ?’ उनले भने । त्यसैगरी काठमाडौंकी आकृति रायमाझीलाई शान्त वातावरणमा अध्ययन गर्न अवसर पाएको र आफूलाई चाहिने सम्पूर्ण सामानको व्यवस्था भएको हुँदा निकै खुशी भएको बताइन् ।

‘म पहिलो पटक भ्याली बाहिर आएकी छु,’ उनले भनिन्, ‘यहाँ आउँदा कस्तो होला जस्तो लागेको थियो, दाङ र काठमाडौं उस्त रहेछ ।’ यदि काठमाडौंमै पढेको भए यस्तो राम्रो वातावरणमा पढ्ने अवसर मिल्दैन्थ्यो होला । साथै बिश्वविद्यालयमा बजेट नहुँदा पनि विद्यार्थीको लागि खाना तथा बस्नको व्यवस्थासहित कक्षा सञ्चालन गरेको उनले बताइन् । पिएचडी कक्षा २०४३ सालबाट शुरु भएको थियो । आवासीय कक्षासहितको पठनपाठन भने गतवर्ष काठमाडौंमा पहिलो सत्र भएको थियो ।

दाङमा यो पहिलोपटक भएको भए पनि कक्षा संचालन भने दोस्रो सत्र भएको विश्वविद्यालयका प्राध्यापक नारायण चालिसेले बताए । दाङमा यो पढाईका लागि बाहिरबाट विज्ञलाई ल्याएर पनि यो कक्षा सञ्चालन गर्न पाउनु राम्रो पक्ष भएको उनले बताए । यो पढाई दाङमा पहिलो भएको कारणले केही कमीकमजोरी भएका भए पनि अर्काे सत्रदेखि ती सच्चाएर लैजानेसमेत उनले बताए । त्यसैगरी दाङमा संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय भएता पनि पढाई भने शुरु भएको थिएन ।

अहिले आएर यो कार्यक्रम शुरु हुँदा पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका विद्यार्थी पढ्नको लागी आएको दाङ आएको विश्वविद्यालयका प्रध्यापक तथा कार्यकारी निर्देशक काशिनाथ न्यौपानेले बताए । साथै वर्षमा २ वटा कक्षा सञ्चालन हुने र सेमेस्टरमा अहिले ७१ जना विद्यार्थीले अध्ययन गरीरहेका उनले बताए । अहिले करिब आधा दर्जन विषयमा विद्यावारिधिको अध्यापन सुरु भएको छ । विश्वविद्यालयमा गणित, राजनीति शास्त्र, अंग्रेजी, नेपाली, अर्थशास्त्र, संस्कृतका विभिन्न विषय र योग चिकित्सामा विद्यावारिधिको अध्ययन गराइरहेको छ । यो कक्षा नियमित हुन्छ या हुँदैन त्यो भने हेर्न बाँकी नै छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार १०:५०