सूचनाको शक्ति - The Power Of Information

        

राजपुरमा हेलिप्याड : विपद् व्यवस्थापनमा सहज

तुलसीपुर । नेपाली सेनाको प्राविधिक सहयोगमा दाङको विकट क्षेत्र राजपुर गाउँपालिकामा निर्माण गरिएको हेलिप्याड राजपुर गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । विपद व्यवस्थापनलाई सहज बनाउन सेनाको रिपुमर्दन गण भरतपुर दाङको सहयोगमा निर्मित सो हेलिप्याड राजपुर गाउँपालिकालाई मंगलबार हस्तान्तरण गरिएको छ ।

गाउँपालिकाको रु तीन लाख लागतमा राजपुर–५ को सालभौरीमा रहेको सो हेलिप्याडको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले उद्घाटन गरे ।हेलिप्याड निर्माणपछि स्थानीयवासी खुशी बनेका छन् । विगतमा बाढी आउँदा स्थानीयवासीलाई उद्धार गर्न नसक्दा समस्या भएको थियो। रातिमा पनि हेलिकोप्टर हेलिप्याडमा अवतरण गर्न सक्ने गरी बत्तीको व्यवस्था गाउँपालिकाले गर्ने अध्यक्ष लोकराज केसीले जानकारी दिए ।

३० जना अट्ने नेपाली सेनाको ठूलो एमआइ सेभेन्टिन हेलिकप्टर अवतरण गर्न सक्ने हेलिप्याडको क्षमता रहेको छ । कार्यक्रममा १९ नं बाहिनीका सहायकरथी सुशीलकुमार भण्डारीले विपद् व्यवस्थापन सम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिँदै नवनिर्मित हेलिप्याडले दुर्गम राजपुर गाउँपालिकालाई विपद् व्यवस्थापनमा सहयोग गर्ने बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार ०९:०७