सूचनाको शक्ति - The Power Of Information

        

स्ववियु निर्वाचन फेरि स्थगित

काठमाडौं । विशेष कारण देखाउँदै त्रिभूवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको छ । त्रिवि कार्यकारी परिषदको सोमबार बसेको बैठकले विशेष कारणबस अर्को निर्णय नभएसम्मका लागि स्ववियु निर्वाचन स्थगित गरेको त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालले जानकारी दिए ।

‘विद्यार्थी सङ्गठनको सहमतिमै निर्वाचन स्थगित गरिएको हो,’ उनले भने, ‘चुनाव हुनुभन्दा एक महिना अगाडि निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने थियो, तर त्यो हामीले सकेनौँ, त्यसैले निर्वाचन स्थगित गरेका हौँ ।’ उनले विद्यार्थी सङ्गठनको छलफल र सहमतिमा छिट्टै निर्वाचन मिति तय गरिने जानकारी दिए ।

भुसालका अनुसार आगामी चैत अन्तिम साता निर्वाचन गर्नेगरी विद्यार्थी सङ्गठनसँग सहमति गरिनेछ । त्यसअगावै स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेस्टरको परीक्षा सम्पन्न गर्ने त्रिविको तयारी छ । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सबै क्याम्पसलाई परिपत्र गर्दै तोकिएको मितिमा निर्वाचन नहुने स्पष्ट पारेको छ ।

त्रिविका आङ्गिक क्याम्पसमा यही फागुन १४ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकिएको थियो । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनबिचको विवादका कारणले विगत १० वर्षदेखि नियमित हुन सकेको छैन । त्रिविमा विसं २०६५ यता क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन ।

तीन वर्षअघि विसं २०७३ मा भएको निर्वाचन २५० क्याम्पसमा मात्र भएको थियो । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन निर्धारित समयमा हुन नसक्दा विद्यार्थी आन्दोलन नै शिथिल भएको छ । विद्यार्थी सङ्गठनबिच निर्वाचन प्रणाली, उमेरहदबन्दीका कारणले स्ववियु निर्वाचन विगत १० वर्षदेखि हुन नसकेको हो ।

त्रिविले ६२ आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न क्याम्पस प्रमुखलाई पत्र पठाइसकेको थियो । पत्रअनुसार ती क्याम्पस स्ववियु निर्वाचनको तयारीमा जुटेका थिए । तोकिएको निर्वाचनका लागि यही फागुन ४ गतेदेखि निर्वाचन प्रक्रिया शुरु गर्ने प्रस्ताव गरिए पनि काम अघि बढेको थिएन ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार ०७:३९