सूचनाको शक्ति - The Power Of Information

        

गरिमा धानको कमसल बीउ बेच्ने बाँकेको मुनाल एग्रोभेटसहित १५ कम्पनी कारबाहीमा

बाला नलागेको गरिमा धान । फाइल तस्वीर

बाला नलागेको गरिमा धान । फाइल तस्वीर

बाँके । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र पारेको छ । माघसम्म विभागले उपत्यकामा र उपत्यकाबाहिरका गरी कुल १ हजार १६४ वटा फर्मको अनुगमन गरेको हो । सो अनुगमनपछि कुल १ करोड ७ लाख ८२ हजार रुपैयाँ जरिवाना तिराइएको छ । विभागको ३५३ वटा टोलीले उक्त अनुगमन गरेको हो ।

उपत्यकामा ९८९ वटा र उपत्यकाबाहिर १७५ वटा कम्पनीको अनुगमन गरेको विभागले जनाएको छ । सो क्रममा कुल १ करोड ५३ लाख ६६ हजार ९८८ रुपैयाँको वस्तु नष्ट गरिएको छ । उपत्यकाभित्र १ करोड ५२ लाख ८४ हजार १९० रुपैयाँबराबरको र उपत्यकाबाहिर ८२ हजार ७९८ रुपैयाँ बराबरको वस्तु नष्ट गरिएको हो । यसबीचमा २ वटा मुद्दा दायर र १८ वटा नमूना परीक्षण गरिएको विभागको भनाइ छ ।

यी हुन् गरिमा धानको कमसल बीउ बेच्ने कम्पनी

अनुगमनमा दोषी पाइएपछि मुनाल एग्रोभेट कन्सर्न बाँकेलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ भने सनराइज एग्रिकल्चर रिसर्च प्रालि दाङलाई ३ लाख, तनहुँ बीज भण्डारलाई २ लाख जरिवाना गराइएको छ । दुवै कम्पनीविरुद्ध गरिमा धानको बीउ भनी कमसल धानको बीउ आयात गरेर बिक्री गरेकोमा उक्त जरिवाना गराइएको हो ।

त्यस्तै, जमिन बीज भण्डार कपिलवस्तु, घिमिरे एग्रोभेट कपिलवस्तु, लालीगुराँस एग्रोभेट सेन्टर दाङ, स्वर्गद्वारी एग्रि नेपाल दाङ, जनता एग्रोभेट दाङ,सृजना भेट सेन्टर बर्दिया, शिखा एग्रो सेन्टर बर्दिया, खुसीराम भेटरिनरी सेन्टर बर्दिया, लोहनी एग्रोभेट सेन्टर बर्दिया, आरएच एग्रोभेट कैलाली, किसान एग्रोभेट सेन्टर कैलाली, प्रशान्त एग्रोभेट सेन्टर चितवनलाई प्रतिकम्पनी २ लाख जरिवाना गराइएको हो ।

उक्त १५ कम्पनीविरूद्ध गरिमा धानको कमसल बीउ बेचेको भन्दै विभागले कारबाही गरेको हो । त्यस्तै, सुलु भेट सेन्टर बर्दियालाई र तेजल एग्रोभेट दाङलाई कारोबार स्थलमा खरिद बिल नराखेकाले २० हजार जरिवाना गराइएको छ । त्यस्तै, साउन १ देखि फागुन ४ सम्म विभागमा प्राइभेट फर्म, साझेदारी फर्म, एजेन्सी र कम्पनी गरी ६ हजार ५४८ वटा कम्पनी दर्ता भएका छन् ।

अन्य प्रशासनिक कारबाही ७ हजार ३५६ वटा समेतबाट ७ करोड २ लाख ११ हजार ८९९ रुपैयाँ राजस्व जम्मा भएको छ । विभागले चालू आवमा १ हजारवटा व्यापारिक फर्महरुको अनुगमन गर्ने लक्ष्य राखेको थियो सो क्रममा माघ मसान्तसम्ममा १ हजार १६४ वटाको अनुगमन गरेको छ । विभागले वार्षिक लक्ष्य पुनरवलोकन समेत गरेको छ । सुरुको लक्ष्यभन्दा दोब्बर अर्थात् २ हजार वटाको अनुगमन गर्ने भएको छ । चालू आवको हालसम्म विभागले कुल १४ करोड ६६ लाख राजस्व संकलन गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलवार १३:३७