कैलाली । होली पर्वको विधिवत शुरूआत हुन केही हप्ता बाँकी रहँदा कैलाली र कञ्चनपुर जिल्लामा मात्रै बसोबास रहेको आदिवासी रानाथारु समुदायमा ‘होरी’ अर्थात् होली शुरू भएको छ । महिनौं दिनसम्म होरी मनाइने प्रचलन रहेको रानाथारु समुदायमा माघ २६ गते पूर्णिमाको रातिदेखि शुरू भएको छ । दुई चरणमा होरी मनाउने प्रचलन रहेको रानाथारु समुदायले पहिलो चरण अन्तरगत माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्मको अवधिमा जिउँदो होरी र त्यसपछिको ८ दिन मृत होरी मनाउने प्रचलन रहिआएको बताइन्छ ।
यसरी १ महिना ८ दिनसम्म होरी मनाइन्छ । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका स्थानीय समेत रहेकी प्रदेशसभा सदस्य एवं रानाथारु बृद्धिजीवी मालामती रानाले होरी मनाउने विधिबारे प्रकाश पार्दै भनिन्, ‘माघ पूर्णिमाको राति गाउँको दक्षिणी सीमानामा पूजापाठ गरेर त्यहाँ ७ वटा कन्डा (गुइठा) छोड्छौं, त्यसपछि होरीको शुरूआत हुन्छ, फागुन पूर्णिमा नआउन्जेलसम्मको १ महिनाको अवधिमा प्रत्येक रात घरघरमा गई होरी सम्बन्धी गीत गाउने र सामूहिक रुपमा नाच्ने प्रचलन रहिआएको छ ।’
यसरी विधिवत शुरूआत भएको १ महिनापछि पनि विधिवत रुपमा होरीको समापन गरिन्छ । उनका अनुसार गाउँको दक्षिणी सीमानामा १ महिना पहिले नै छोडिएको गुइठा फागुन पूर्णिमाको राति पराल र तोरीको पिजाइसहित जलाइन्छ । दैत्य हिरन्य कस्यपकी बहिनी होलिकाको प्रतीक मानी गुइठालगायत वस्तुलाई विधिपूर्वक पूजापाठ गरी जलाउने गरिन्छ । असत्यमाथि सत्यको जीतको अवसरमा मनाइने यस पर्व मनाउने तौरतरिका भने समुदायपिच्छे विविधता पाइन्छ ।
यहाँसम्म कि १ महिना ८ दिनसम्म होरी मनाउने रानाथारु समुदायले फागु पूर्णिमापछिको १ दिनमा मात्रै रंग अविरको प्रयोग गरिने बताउँछिन् धनगढी–७ देवहरियाकी ७३ वर्षीया करुवादेवी राना । रानाथारु समुदायमा होरीको विधिवत समापन गर्ने पनि अनौठो तरिका पाइन्छ । होरीको अन्तिम दिनको बिहानै सबै गाउँलेहरू माटोको गोलीलाई सिन्कामा उनेर गाउँको दक्षिणी सीमानामा भेला हुन्छन् । बनाएर लगिएको ती माटाका गोलीलाई रानाथारु समुदायमा ‘खक्रेरा’ भन्ने गरिन्छ । गाउँको भर्रा (पूजारी)ले विधिवत् रुपमा पूजापाठ गरिसकेपछि ती खक्रेरालाई फुटाएर होरीको विधिवत बिर्सजन गरिने उनको भनाई छ ।
सत्यपाटी ।