सूचनाको शक्ति - The Power Of Information

        

बलात्कार प्रयास लागेका महरा निर्दोष ठहर

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन् । संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा खेप्दै आएका महरालाई जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले निर्दोष ठहर गर्दै सफाइ दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई निर्दोष ठहर हो । अदालतमा उनीबारे आइतबार नै बहस सकिएको भए पनि फैसला आउन बाँकी थियो । त्यसका लागि सोमबार ११ बजे प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो । महरा बा २ झ ३९७८ नम्बरको गाडीमा चढेर अदालत पुगेका हुन् ।

महरा हात हल्लाउँदै र मुस्कुराउँदै इजलास कक्षतर्फ गएका थिए । महराले सोही प्रकरणमा मुछिएपछि असोज १४ गते पदबाट राजीनामा दिएका थिए भने १९ गते पक्राउ परेका थिए । महराको पक्षमा जिल्ला अदालत काठमाडौँले फैसला सुनाएलगत्तै महरा अदालतबाट बाहिरिएका छन् । अदालत परिसरमा कुनै प्रतिक्रिया नदिए पनि उनी प्रसन्न मुद्रामा देखिन्थे ।

अदालतबाट बाहिरिने क्रममा उनले गेटबाट सबै शुभेच्छुकलाई मुस्कानसहित अभिवादन गरेका थिए । त्यसलगत्तै उनी गाडी चढेर डिल्ली बजार कारागारतर्फ लागेका छन् । अब डिल्ली बजार कारागारले आवश्यक प्रक्रिया पूरा गरेर उनलाई रिहा गर्नेछ । महरा अदालत जाँदा पनि हात हल्लाउँदै र मुस्कुराउँदै पुगेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार १५:१०