सूचनाको शक्ति - The Power Of Information

        

साइपालमा हेलिकप्टरबाट खाद्यान्न ढुवानी, अभाव उस्तै

फाइल तस्वीर

फाइल तस्वीर

बझाङ । लामो हिउँदे झरिसँगै भारी हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साइपाल गाउँपालिकामा बाटो अबरुद्ध हुँदा खाद्यान्न अभाव भएपछि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी भएको छ । नेपाली सेनाको हेलिकप्टरले खाद्य संस्थान सुर्खेतबाट दुई पटक गरि २५ क्वीन्टल २० केजी चामल साइपाल गाउँपालिकाको धुलीमा ढुवानी गरेको हो ।

ढुवानी भएको चामल साइपाल गाउँपालिकाको धुली र बलौडी गाउँमा प्रतिब्यक्ति ३ केजी वितरण गरिएको छ । गाउँपालिकाको केन्द्र रहेको काँडासम्म पनि अहिलेसम्म गोरेटो बाटो हिउँले अबरुद्ध हुँदा खच्चर भेडा, घोडा चल्न नसकेपछि खाद्यान्न अभाव भएको थियो । प्रतिनिधिसभा सदस्य आशा विकले यो समस्या संसदमा उठाएपछि सरकारको ध्यानार्कषण भएर साइपाल गाउँपालिकामा खाद्यान्न ढुवानी भएको हो ।

‘धौलन र काँडामा केहि दिनअघि हिउँ पग्लेर भेडा र खच्चरबाट चामल ढुवानी गरेका थियौं,’ गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले भने । जिल्लाको सबैभन्दा बिकट र टाढा रहेका धुली र बलौडी गाउँमा बाटो नखुल्दा समस्या थियो । सरकारले हेलिकप्टरबाट ढुवानी गरि दिएकोमा खुशी लागेको उनले बताए । उनले भने, ‘यसले प्रतिब्यक्ति दुई किलो मात्र पर्ने हुँदा अझै अभाव कायमै छ, गाउँपालिकाबाट पटकपटक चामलका लागि माग गरे पनि यसको सुनुवाई भएन ।’

गाउँपालिकाको केन्द्र काँडामा रहेको खाद्य डिपोमा तीन महिनाअघि खाद्यान्न रित्तिएको थियो । हिउँले बाटो अबरुद्ध हुँदा स्थानीय ब्यापारीहरुले समेत खाद्यान्न ढुवानी गर्न सकेका थिएनन् । स्थानीय जसबीर बोहराले भने, ‘गाउँमा खाद्यान्न अभाव भएको झण्डै तीन महिना हुन लाग्यो यसका बारेमा कुनै पनि सुनुवाई भएन ।’ उनले २५ क्वीन्टलले तीन चार छाक खानलाई मात्र पुग्ने भएकाले अझै सरकारसँग ढुवानी गरिदिन आग्रह गरे ।

गत साउनमा वितरण गरिएको सबै चामल सकिएपछि सदरमुकाम चैनपुरबाट चार दिनको पैदल दुरीमा रहेको साइपाल गाउँपालिका यातायत सञ्जालसँग नजोडिएकाले खाद्यान्न ढुवानी महङ्गो हुने भएकाले सरकारले ढुवानीमा अनुदान दिएर सुलभ दरमा खाद्यान्न उपलब्ध गराउँदै आएको थियो । यसबर्ष भने खाद्यान्न ढुवानीका लागि ढिलोगरी बोलपत्र आह्वान भएर ठेकेदारहरुले कम दर रेट राखेकाले काम गर्न नसक्ने भन्दै सम्झौता नगरेपछि ढुवानीमा समस्या भएको खाद्यान्न ब्यबस्था तथा ब्यापार कम्पनीका अञ्चल प्रमुख अलिन श्रेष्ठले बताए ।

उनले भने, ‘खाद्यान्न ढुवानीका लागि गत महिना बोलपत्र आह्वान गरेका थियौं । जिल्लाभित्रका स्थानीय ठेकेदारहरुले प्रतिश्पर्धा गरी टेन्डर हालेकोले कम दर रेट राखेको तर सम्झौता गर्न आनाकानी गरेपछि समस्या भयो,’ उनले भने । खाद्यको चामलमा ढुवानी अनुदान पाएपछि झण्डै ४३ रुपैयाँ पर्ने मोटो चामलको मुल्य अहिले साइपाल गाउँपालिकाको स्थानीय बजारमा भने १२० रुपयाँ पर्ने गरेको छ । जिल्लाको खाद्य संकटका हिसावले यो गाउँपालिका उच्च जोखिममा छ । हाल जिल्लाका तीन वटा डिपो कार्यालय र सदरमुकाम चैनपुर नजिकै रहेको देवलबाट खाद्यान्न वितरण हँुदै आएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार ०८:२७