सूचनाको शक्ति - The Power Of Information

        

गणित विषयमा सामुदायिक विद्यालय कमजोर

बाँके । बाँकेको कोहलपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरु गणित विषयमा कमजोर रहेको पाइएको छ । कोहलपुर नगरपालिका शिक्षा शाखाले सार्वजनिक गरेको शैक्षिक उपलब्धी २०७५/०७६ मा सबैभन्दा बढी गणित विषयमा विद्यार्थीहरु कमजोर रहेको देखाएको हो ।

तथ्यांक अनुसार यहाँका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु गणितमा सबैभन्दा बढी कमजोर देखिन्छन् । गत आव २०७५/०७६ मा सामुदायिक स्कुलमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा अध्ययनरत विद्यार्थी अन्य विषयभन्दा कमजोर रहेका छन् । शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालले विद्यार्थीहरु गणितमा कमजोर रहेको बताए ।

‘सामुदायिक विद्यालयमा शिक्षकहरुले पुरानै पद्धतीबाट अध्यापन गराउँदा यो समस्या आएको हो,’ उनले भने, ‘शिक्षकहरुले राम्रोसँग आफ्नो जिम्मेवारी पुरा गरेकोसमेत देखिदैन ।’ कोहलपुर नगरपालिकाको शिक्षा शाखाले गणित विषयका शिक्षकहरुका लागि सिकाई केन्द्रसमेत स्थापना गरेको छ ।

‘विकास र समृद्धि गराउन गणित विषयको भूमिका निकै महत्वपूर्ण रहन्छ’ नगर शिक्षा शाखा प्रमुख पौड्यालले भने, ‘गणित विषय तार्किकरुपमा अध्यापन गराउनुपर्ने देखियो ।’ नगरभित्रका सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरु गणितमा कमजोर नतिजा ल्याएको पाइए पनि नतिजा सुधार गर्न नगरपालिकाले शिक्षकलाई तालिम दिन सुरु गरेको छ ।

तर कोहलपुर नगरपालिकाले बाँके जिल्लामा पहिलो साक्षरता घोषणा गरेको थियो । कोहलपुर नगरपालिका–१, का वडाध्यक्ष गोपीलाल खनालले शिक्षामा प्रविधिको प्रयोग नभएको कारणले गणित विषयमा कमजोर भएको बताए । ‘गणितमा अध्यापन गराउन व्यवहारिकरुपमा अध्यापन गराउन शिक्षकहरु अपडेट हुनुपर्छ,’ उनले भने ।

यस्तै जनज्ञानज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक एकदेव पन्थीले गणित विषयमा कमजोर भएपछि गणित शिक्षकहरुको लागि सिकाई केन्द्र स्थापना गरेको बताए । ‘कोहलपुर नगरपालिकामा गणित विषयमा एकदमै खस्कँदो अवस्थामा पुगेको छ,’ उनले भने, ‘यसलाई गणित विषयमा कमजोर विद्यार्थीहरुको शैक्षिक विकास गर्नका लागि सबै गणित शिक्षकहरुलाई सिकाई केन्द्रमार्फत सिकाई रहेका छौं ।’

विद्यालय प्रधानाध्यापक पन्थीका अनुसार प्रदेश नं. ५ का गणित विषयक प्रशिक्षकहरुबाट कक्षाहरु सञ्चालन भइरहेका छन् । ‘पुरानै तरिकाबाट अध्यापन गराउँदा विद्यार्थीले बुझेनन् की भन्ने धारणा आएकाले यो कार्य गर्न लागेका हौं,’ उनले भने, ‘गणित विषयलाई कसरी अध्यापन गराउने, कुन साम्रागी प्रयोग गर्ने, प्रविधिलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा शिक्षकहरुलाई प्रवोधिकरण गरिरहेका छौं ।’

बालबालिकाहरुलाई गणित विषयमा उत्कृट नतिजा ल्याउन सक्ने उनले विश्वास व्यक्त गरे । यसले कोहलपुरको गणित विषयको लागि अति महत्वपूर्ण योगदान पु¥याउने उनको भनाई थियो । कोहलपुर नगरपालिकाका विद्यालय निरिक्षक जिवन न्यौपानेले अभिभावकको कमजोरी गर्दा विद्यार्थीहरु कमजोर भएको बताए । ‘अभिभावकले सामुदायिक विद्यालय भन्ने बित्तिकै मनोबल घटाउनुहुन्छ,’ उनले भने, ‘अभिभावकहरुले आफूले आत्म पहिचान गर्नुपर्छ ।’

शिक्षकहरुले बालबालिकालाई निरन्तररुपमा शिक्षण क्रियाकलाप नगराएकोले पनि कमजोर भएको उनको भनाई थियो । जनता माध्यामिक विद्यालय मैटहवाका गणित शिक्षक विष्णुबहादुर केसीले गणित विषयलाई केन्द्रीय तहबाटै कमजोर बनाइएको बताए । ‘पाठ्यक्रमबाटै गणित विषयलाई हटाउने प्रस्ताव आएपछि हामीले पनि त्यति ध्यान दिएनौं,’ उनले भने, ‘हामीबाट कमजोरी भएको छैन ।’

आफूहरुले ‘इनकोडिङ्ग र डिकोडिङ्ग’ माध्यमबाट विद्यार्थीलाई अध्यापन गराउँदै आएको उनको भनाई थियो । उनले विद्यार्थीलाई विद्यालयको कक्षाकोठाभन्दा बाहिर गणित सिक्ने अवसर नभएको गुनासो गरे । ‘कक्षाकोठामा मात्र सिकेको सिकाई कति हुन्छ र ? उनले प्रतिप्रश्न गरे, यसमा न त अभिभावक नै जिम्मेवार छन् न त बालबालिका नै । यसले भविष्यमा गणित शिक्षा क्षेत्रमा झनै चूनौतिको रुपमा सिर्जना हुन्छ,’ गणित शिक्षक केसीले भने ।

कोहलपुर नगरपालिका शिक्षा शाखाले सार्वजनिक गरेको शैक्षिक उपलब्धी २०७५/०७६ को अनुसार गणित विषयमा कक्षा १ देखि ३ सम्म ६१ प्रतिशतमात्र उत्तीर्ण भएको तथ्यांक छ । कक्षा ४ देखि ५ सम्म २०.९४ प्रतिशत विद्यार्थी उर्तिण भएका छन् भने कक्षा ६ देखि ८ सम्म ४९ प्रतिशत उत्तीर्ण भएका छन् । कोहलपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा नेपाली, स्वास्थ्य, सामाजिक विषयमा बढी उत्तीर्ण भएको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार १०:३०