सूचनाको शक्ति - The Power Of Information

        

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ सय पुग्यो

बेइजिङ । चीनको हुबेइ प्रान्तको उहानबाट सुरु भएको कोरोना भाइरसबाट सङ्क्रमित भई ज्यान गुमाउनेको संंख्या करिब १ हजार ४०० पुगेको शुक्रबार प्राप्त एक समाचारमा जनाइएको छ । शुक्रबार चीनको भाइरस महामारीको कारण मर्नेको संख्या १ हजार ३८० पुगेपछि अमेरिकाले बेइजिङबाट पारदर्शिताको अभाव भएको गुनासो गरेको छ ।

हुबेइ प्रान्तको उहानबाट गत वर्षको अन्त्यतिरबाट यसको सङ्क्रमण शुरु भएको यो भाइरसबाट हुने सङ्क्रमणलाई हालैमात्र वैज्ञानिकले ‘कोभिड–१९’ नाम दिएका छन् । प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा मृत्यु हुनेको संख्यामा पनि वृद्धि भइरहेको छ । पछिल्ला केही दिनमा नयाँ सङ्क्रमण भएका मानिसको संख्यामा ठूलो मात्रामा वृद्धि भएको बताइएको छ ।

पछिल्लो समयमा निको भएर घर फर्किएकाबाहेक हाल सङ्कम्रण भइ उपचार गराइरहेका बिरामीको संख्या झन्डै ६५ हजार पुगेको छ । यस सङ्क्रमणको उपचारका क्रममा कुनै कमी हुन नदिने चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ । उक्त पार्टीले हुबेइ प्रान्तका सचिवलाई हटाएको बताएको छ । स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार हाल चीनमा सङ्क्रमित बिरामीमध्ये करिब ८० प्रतिशत हुबेइ प्रान्तमात्र रहेको नयाँ तथ्य पनि पत्ता लागेको बताइएको छ ।

उता विश्व स्वास्थ्य सङ्गठनले भने चीनमा देखापरेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ । जेनेभामा आयोजित एक कार्यक्रममा उक्त सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै यस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार १६:०४