सूचनाको शक्ति - The Power Of Information

        

प्रस्तावित लुम्बिनी प्रदेशमा ५० करोड लागतका योजना मात्रै ‘प्रदेश गौरवका आयोजना’

रुपन्देही । प्रस्तावित लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवका आयोजना निर्धारण सम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश गौरवका आयोजना निर्धारण मापदण्ड स्वीकृत गरेको प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

‘प्रदेश सरकारले ५० करोड रुपैयाँ लागत भएका योजनालाई मात्रै प्रदेश गौरवका योजना मान्ने निर्णय गरेको छ,’ चौधरीको भनाइ छ । उनले प्रदेश गौरवका आयोजना निर्धारणसम्बन्धी मापदण्ड–२०७६ स्वीकृत भएसँगै मापदण्ड लागु हुने जानकारी दिए । मापदण्डमा गौरवका योजना हुन तराईका जिल्लामा ५० हजार, पहाडमा २५ हजार र दुर्गममा १० हजार जनसङ्ख्या लाभान्वित हुनुपर्ने उल्लेख छ ।

त्यस्तै बैठकले प्रदेश स्वास्थ नीति र प्रदेश भवन नियमावली पनि स्वीकृत गरेको छ । यो प्रदेशमा प्रदेश भवन नीति स्वीकृत भए पनि नियमावली नबन्दा भवन निर्माण सम्बन्धी काम अगाडि बढन सकेको थिएन । त्यस्तै बैठकले होमस्टे सम्बन्धी नियमावली स्वीकृत गर्नुका साथै प्रदेश पूर्वाधार विकास प्राधिकरणमा आठ जना कर्मचारीको अस्थायी दरबन्दी संरचना स्वीकृत गरेको छ । जसमा प्रशासकीय अधिकृत आठौं तह एक, इन्जिनियर एक पद स्वीकृत गरेको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार १५:५२