सूचनाको शक्ति - The Power Of Information

        

३० लाख बालबालिकालाई दादुराको खोप लगाइँदै

काठमाडौं । सरकारले बिहीबारदेखि दादुरा रुवेला खोप अभियान सञ्चालन गरेको छ । यो खोप अभियान दुई चरणमा सञ्चालनमा आउने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको खोप शाखाले जनाएको छ ।

खोप शाखाका प्रमुख डा. झलक गौतमले दादुरा रुवेला खोप अभियान पहिलो चरणमा फागुन महिनाभर प्रदेश १, २ र ५ नम्बर र दोस्रो चरणमा चैत्रमा वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश सञ्चालन गरिने बताए ।

‘पहिलो चरणमा ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ जना बालबालिकालाई दादुरा रुवेला खोप दिन लागिएको हो,’ उनले भने, ‘दोस्रो चरणमा ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ जना बालबालिकालाई यो खोप दिइनेछ ।’ खोप ९ महिनादेखि ५ वर्षसम्मका करिब ३० लाख बालबालिकालाई दिइने उनले बताए ।

यो अभियानमा ५ हजार सुपरभाइजर खटाइएको छ भने ५० हजार खोपकेन्द्र सञ्चालन गरेको उनले जानकारी दिए । विश्व स्वास्थ्य संगठनले २०२३ मा नेपालबाट यो दादुरा रुवेला उन्मुलन गर्ने लक्ष्य राखेको छ । त्यसै अनुसार यो अभियान सञ्चालन गरिएको शर्माले बताए । यो अभियानका लागि करिब ५६ करोड खर्च लाग्ने अनुमान गरिएको खोप अधिकृत भरत भण्डारीले बताए ।

‘यो अभियानमा ३ लाख २२ हजार भाइल खोप लाग्नेछ,’ उनले भने, ‘अहिले नेपालमा पोलियोको शून्य अवस्था छ । तर यसलाई अझ सुरक्षित बनाउन जन्मेदेखि पाँच वर्ष मुनिका सबै बालबकालिकालाई पोलियो थोपा खुवाउन लागिएको हो ।’ तराईका १९ जिल्लाका (चितवन र नवलपरासीलाई बाहेका) अन्य जिल्लाका बालबालिकालाई दादुरा खोपसँगै पोलियो थोपा पनि खुवाइने उनले बताए ।

केन्द्रीय रूपमा काठमाडौँमा यो अभियानको सुरुवात गरेको छ भने प्रदेशहरूले पनि आआफ्ना ढंगले अभियानको सुरुवात गर्दैछन् । नेपालमा सन् २००४ मा पहिलो दादुरा रुवेला खोप अभियान सञ्चालन भएको थियो । सामान्यतः हरेक चार वर्षमा हुने यो अभियान त्यसपछिका २००८, २०१२, २०१६ मा सञ्चालनमा क्रमशः दोस्रो, तेस्रो र चौथो अभियानका रूपमा सञ्चालन भएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार १३:५०