सूचनाको शक्ति - The Power Of Information

        

गोली प्रहार गरी भारतमा नेपालीको हत्या

काठमाडौँ । सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खड्गपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको भारतमा गोली प्रहार गरी हत्या गरिएको छ । कामको सिलसिलामा भारतको झन्झारपुर गएर स्कार्पियोमार्फत फर्कँदै गर्दा मोटरसाइकलमा सवार अज्ञात समूहले गोली प्रहार गरी यादवको हत्या गरेको हो । यादव बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजका काम गर्दै आएका थिए ।

ग्यासरेजको कामको सिलसिलामा यादवसँगै ग्यारेज धनी सत्येन्द्र यादव पनि सँगै थिए । सप्तरीका एसपी कृष्ण प्रसाईका अनुसार भारतीय प्रहरीसँग समन्वय गरेर घटनाबारे बुझ्ने कोसिस भइरहेको छ । उनले भने, ‘गोली चलेको हल्ला छ । एक युवकको मृत्यु भएको भन्ने खबर आएको छ । यद्यपी घटनाको विस्तृत विवरण आइसकेको छैन ।’ घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार ११:२२