सूचनाको शक्ति - The Power Of Information

        

निजी क्षेत्रलाई नेपालगन्ज बसपार्क सञ्चालनको जिम्मा

बाँके । नेपालगन्ज बसपार्क व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिइएको छ । बसपार्क व्यवस्थापन तथा नेपालगन्ज उपमहानगरद्वारा सञ्चालित सात वटा नगरबस सञ्चालनको जिम्मा बोलपत्र आह्वान प्रक्रियामार्फत् शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्स नेपालगन्जलाई दिइएकोे उपमहानगरपालिकाले जनाएको छ ।

पाँच वर्षको लागि सञ्चालनको जिम्मेवारी प्राप्त गरेको सप्लायर्सका सञ्चालक सन्तोष केसीले जानकारी दिए । बसपार्कलाई व्यवस्थित सुन्दर र सफा आकर्षक बनाउन आफूहरुले पहिलो ध्यान दिने सप्लायर्सका अर्का सञ्चालक राकेश रानाले जानकारी दिए ।

‘नेपालगन्जको आधुनिक बसपार्कको व्यवस्थापन जिम्मेवारी पाउनु हाम्रो लागि ठूलो अवसर हो,’ उनले भने, ‘यो जिम्मेवारी पाउँदा हामी उत्साहित छौँ, उपमहानगरपालिकासँग गरिएको शर्तभन्दा अझ बढी राम्रो काम गरेर देखाउने छौँ ।’

चार बिघा १० कट्ठा जग्गामा रु १६ करोड १६ लाखको लागतमा सुविधा सम्पन्न बसपार्क निर्माण भएको छ । बसपार्कमा १२३ ठूला र ५६ साना बस राख्न सकिने क्षमता छ । उपमहानगरपालिकाले सम्पूर्ण बस बसपार्कभित्र प्रवेश अनिवार्य गराउने निर्णय गरेपछि बसपार्कमा चहलपहल बढेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार १०:३७