सूचनाको शक्ति - The Power Of Information

        

नायिका महिमा सिलवाल दिदीबहिनीको मृत्यु

काठमाडौं । नेपाली चलचित्रकी नायिका महिमा सिलवाल दिदी बहिनीको सवारी दुर्घटनामा मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका २ चाम्बासमा बुधबार साँझ उनी सवार स्कुटर बससँग ठोक्किदा दिदी बहिनीको मृत्यु भएको हो ।

बुधबार साँझ करिब ५ बजेर ४५ मिनेट जाँदा उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आइरहेको लु २ ख १३५ नम्बरको बसले ठक्कर दिएको थियो । स्कुटरलाई गजुरीमा ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब निरीक्षक जनक बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार स्कुटरमा सिलवालसहित उनकी बहिनी शर्मिला सिलवालको पनि मृत्यु भएको छ । महिमाको घटनास्थलमा नै मृत्यु भएको थियो भने शर्मिलाको उपचारको लागि काठमाडौँ ल्याउने क्रममा बाटोमा मृत्यु भएको बस्नेतले बताए । उनीहरु काठमाडौँबाट चितवन घर जाँदै थिए ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी २२ वर्षीया महिमाले ‘कारवाही’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले ‘अप्रिल फुल’, ’चियर्स’, ‘दानव’, ‘जिग्लो’लगायत चलचित्रमा काम गरेकी थिइन् । उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसकेकी थिइन् ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार ०९:३८