सूचनाको शक्ति - The Power Of Information

        

कोरोना भाइरसबारे स्वास्थ्यकर्मी नै अनभिज्ञ

बाँके । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस चेकजाँचका लागि नेपाल–भारत सीमा नाका जमुनाहामा ‘कोरोना हेल्थ हेस्क’ स्थापना भएको छ । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन भारतबाट आउने नेपालीको स्वास्थ्य जाँचका लागि नाकामा हेल्थ डेस्क सञ्चालनमा छ ।

सटर भाडामा लिएर सञ्चालनमा ल्याइएको ‘कोरोना हेल्थ हेस्क’मा हरेक दिन एकजना स्वास्थ्य स्वास्थ्य जाँचका लागि खटिन्छन् । तर, ‘कोरोना हेल्थ हेस्क’ हरेक दिन सुनसान हुने गरेको छ । स्वास्थ्य परीक्षणका लागि कोही नआएपछि स्वास्थ्य परीक्षणका लागि खटिएका स्वास्थ्यकर्मी कामविहीन हुने गरेका छन् ।

हेल्थ डेस्कलाई कोरोना भाइरस जाँच गर्ने जिम्मा पनि दिइएको छ । तर, हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मी नै कोरोना भाइरसको बारेमा बेखबर छन् । हेल्थ डेस्कमा चेकजाँचका लागि खटिएका स्थास्थ्यकर्मी नै अनभिज्ञ देखिएका छन् । कोरोनो भाइरस नयाँ भएकोले राम्रो जानकारी नभएको हेल्थ डेस्कका प्रमुख हेल्थ असिस्टेन्ट देवीचन्द्र थापा बताउँछन् ।

उनले भने ‘कोरोना भाइरस के हो भन्नेबारे म पनि जानकार छैन ।’ भाइरस पत्ता लगाउने विधि र आवश्यक उपकरणको बारेमा पनि आफूलाई जानकारी नभएको उनी बताउँछन् । थापाले भने, ‘नयाँ रोग भएकोले के कसरी सर्छ र देखिने लक्षणका बारेमा धेरै स्थास्थ्यकर्मीलाई जानकारी नै छैन ।’

कोरोना भाइरस नयाँ भएकोले यो रोगको बारेमा स्वास्थ्यकर्मीलाई अनुशिक्षण दिनुपर्ने उनको भनाई छ । उनकाअनुसार कोरोना भाइरसको जाँच गर्नुस् भनेर निर्देशन दिँदैमा हुँदैन, नयाँ रोगको बारेमा स्वास्थ्यकर्मीलाई तालिम दिएमात्र सेवा प्रभावकारी बन्न सक्छ । हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीसँग कोरोना भाइरस जाँच गर्ने प्रभावकारी उपकरणसमेत छैनन् ।

इन्फ्रारेड थर्मोमिटरको सहायताले कोरोना भाइरसको जाँच गर्दै आएको हेल्थ असिस्टेन्ट थापाले बताए । हेल्थ डेस्क स्थापना भएको एक साता पुगिसकेको छ । तर, अहिलेसम्म २० जनाको मात्रै स्वास्थ्य जाँच गरिएको उनको भनाई छ । भारतमा कोरोना भाइरस नदेखिएकोले कडाइका साथ जाँच गरिएको छैन ।

शंकास्पद व्यक्तिलाई हेल्थ डेस्कसम्म नाकामा खटिएका प्रहरीले लैजाने गरेका छन् । रुघाखोकी र ज्वरो आएको जस्तो लागेमा हेल्थ डेस्कमा लिएर जाँचका लागि स्वास्थ्यकर्मीको जिम्मा लगाउने गरेको ईलाका प्रहरी कार्यालय, जमुनाहाका प्रमुख प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालले बताए ।

कोरोना भाइरस जाँचका लागि नाकामा हेल्थ असिस्टेन्टलाई खटाए पनि भारतको उत्तर प्रदेश सरकारले नेपालगन्ज नाकाअन्तरगत आफ्नो भूमीमा मेडिकल अधिकृत डा.मुकिम अहमदको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरेको छ । चिनियाँ नागरिकलाई लक्षित गरि स्वास्थ्यकर्मीको टोली परिचालन भएको सिएचसी चर्दाका वार्ड असिस्टेन्ट धर्मराज बर्माले बताए ।

नेपालबाट भारत प्रवेश गर्ने नागरिकमा कोरोना भाइरस फेला परेमा एम्बुलेन्समार्फत तत्कालै जिल्ला अस्पताल बहराइच पुर्याउने व्यवस्था मिलाइएको उनले बताए । ‘एम्बुलेन्समार्फत बहराइच लगेर शंकास्पद ब्यक्तिमा कोरोना भाइरस भए नभएको पत्ता लगाउन पूरै शरिरको जाँच गर्ने गरि स्वास्थ्यकर्मी परिचालन भएका छौँ,’ बर्माले भने ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार ०८:५५