सूचनाको शक्ति - The Power Of Information

        

संगठनलाई उत्कृष्ट बनाउँछु : प्रहरी महानिरीक्षक ज्ञवाली

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित बिशेष समारोहबीच गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सो अवसरमा गृहसचिव न्यौपानेले नेपाल सरकारका तर्फबाट प्रहरी महानिरीक्षक ज्ञवालीलाई बधाई तथा शुभकामना दिँदै कार्यकाल सफलताको कामना गरेका थिए । उक्त अवसरमा गृहसचिव न्यौपानेले दर्ज्यानी चिन्ह लगाइदिएपछि प्रहरी महानिरीक्षक ज्ञवालीले व्यक्त गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्दै प्रहरी संगठनलाई अझ उच्च मनोबलयुक्त र सक्षम संगठनको रुपमा विकास गर्न सम्पूर्ण लगन, मेहनत, तत्परता, ईमानदारिता, कार्यकुशलता र क्रियाशीलता वहन गर्ने अपेक्षा रहेको बताए ।

नेपाल प्रहरीका सबै सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई अझ उत्प्रेरित गर्नुपर्ने, व्यावसायिक बनाउनुपर्ने, अपराध र विध्वसांत्मक गतिविधि नियन्त्रण गर्न अझ सक्रिय हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै गृहसचिव न्यौपानेले मानवअधिकारको सम्मान लगायत न्यूनतम मानवोचित विषय बस्तुलाई समेत केन्द्रविन्दुमा राख्दै सबै सुरक्षा निकायहरुवीच सूचनाको आदान प्रदान, समन्वय एवम् सहकार्यसहित अगाडि बढ्नुपर्नेमा जोड दिए ।

गृहसचिव न्यौपानेले सुखी नेपाली, सम्बृद्ध नेपालको राष्ट्रिय आकांक्षालाई पुरा गर्न सम्पूर्ण सुरक्षा निकायले अझ बढी चनाखो भई लाग्नुपर्ने चर्चा गर्दै नेपाल प्रहरी संगठनलाई सुधार गर्दै सधै चुस्त राख्नका लागि गृह मन्त्रालय सदैव सक्रियरुपमा क्रियाशील रहेको बताए । व्यक्ति केन्द्रित प्रतिस्पर्धाभन्दा व्यावसायिकतातर्फ ध्यान दिन उपस्थित प्रहरी कर्मचारीलाई गृहसचिव न्यौपानेले निर्देशनसमेत दिए ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले व्यावसायीक निष्ठाका साथ राष्ट्र सेवामा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकारप्रति हार्दिक कृतज्ञता तथा आभार व्यक्त गरे । उनले नेपाल प्रहरी नेपालको संविधानको सफल कार्यान्वयन, विधिको शासन, नागरिकको नैसर्गिक हक अधिकारको रक्षा गर्न दृढ संकल्पित रहेको उल्लेख गरे ।

प्रहरी महनिरीक्षक ज्ञवालीले अवाञ्छित, ध्वंसात्मक र संविधान विपरितका गतिविधिलाई पूर्ण नियन्त्रण, निस्तेज गरी कानुनको दायरामा ल्याउन नेपाल प्रहरी दृढ रहेको बताए । नेपाल प्रहरी जस्तोसुकै चुनौतिमा पनि उच्च व्यावसायीक धर्म र उच्च मनोबलका साथ कर्तव्य पथमा समर्पित रहन प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्मका सबै दर्जा प्रतिबद्ध रहेको उल्लेख गरे । नेपाल प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी व्यावसायिक र पारदर्शी तवरबाट सम्पादन हुने प्रहरी महानिरीक्षक ज्ञवालीले बताए ।

गृह मन्त्रालयले तय गरेको मार्गदर्शनमा रही उत्कृष्ट संगठनको रुपमा नेपाल प्रहरीलाई स्थापित गराउन सक्रिय रहने दृढता उनले व्यक्त गरे । नेपाल प्रहरीको सांगठनिक सुदृढिकरण र कर्मचारीको वृत्तिविकासमा थप जोड दिनु आजको आवश्यकता रहेको बताउँदै शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा आगामी दिनमा सरोकारवाला निकायहरुको मार्गनिर्देशन, सद्भाव र सहकार्य रहिरहने विश्वास प्रहरी महनिरीक्षक ज्ञवालीले व्यक्त गरे ।

कार्यक्रममा गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका उच्च प्रहरी अधिकृतहरु, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ कर्मचारी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो । नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले आजै आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन् । प्रहरी महानिरीक्षक ज्ञवाली प्रहरी प्रधान कार्यालय प्रवेश गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंह, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले हार्दिक स्वागत गरेका थिए ।

स्वागत पश्चात प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी प्रधान कार्यालय परिसरस्थित मन्दिरमा पूजाअर्चना गर्नुका साथै अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरे । २०४७ असार २५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक ज्ञवाली २०५८ बैशाख १८ गते प्रहरी नायव उपरीक्षक, २०६६ मंसिर ३ गते प्रहरी उपरीक्षक, २०७३ असार २८ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका थिए ।

समाजशास्त्रमा स्नातकोत्तर गरेका प्रहरी महानिरीक्षक ज्ञवालीले विभिन्न ३३ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन् । प्रहरी महानिरीक्षक ज्ञवाली दुर्गम सेवा पदक, गद्दी आरोहण रजत पदक, संयुक्त राष्ट्रसंघ पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रहरी सेवा पदक, प्रवल जनसेवाश्री पदक लगायतका विभूषणबाट विभूषित भएका छन् । यसैगरी उनले उत्कृष्ट व्यावसायीक कार्य सम्पादन गरेबापत दर्जनौं नगद पुरस्कार तथा प्रशंसापत्रसमेत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार १४:१४