कैलाली । सुदूरपश्चिम प्रदेशको हाल राजधानी रहेको धनगढीमा नक्कली प्रहरी बनेर रकम असुल्ने तीन जना पक्राउ परेका छन् । माघ २ गते धनगढी उपमहानगरपालिका–३ बडहरा घर भइ मिलन चोकस्थित चन्द्रभान शर्माले सञ्चालन गरेको रिक्सा, साइकल मर्मत पसलबाट उनीहरुले रकम असुली गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ पर्नेमा बझाङ खप्तडछान्ना गाउँपालिका–१ घर भई हाल धनगढी उपमहानगरपालिका–७ मनहेरा बस्ने ३२ वर्षिय शनम भण्डारी, धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने ३५ वर्षीय गौरव हमाल र कञ्चनपुर पुनर्वास नगरपालिका–५ घर भई हाल धनगढी उप महानगरपालिका–१ बस्ने ३३ वर्षीय किशन सिजापती रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
शर्मालाई भारतीय नम्बर प्लेटको मोटरसाइकल चोरीको हो र आफूहरु जिल्ला प्रहरी कार्यालयबाट आएका हौँ भन्दै नक्कली प्रहरी बनेका तीन जनाले दुई हजार पाँच सय रकम असुली गरेको गुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।
सत्यपाटी ।