एजेन्सी । दिल्लीका जनताले एक पटक फेरि सत्ताको साँचो आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवाललाई सुम्पिएका छन् । गत शनिबार दिल्लीमा विधानसभाका ७० सिटका लागि निर्वाचन सम्पन्न भएको थियो । सोमबार सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार आम आदमीले ७० सिट मध्ये ६२ सिटमा जित हासिल गरेको छ ।
केन्द्रीय सत्ता चलाइरहेको भाजपाले भने केवल ८ सिटमा चित्त बुझाएको छ । अन्य कुनै पनि दलले दिल्लीमा खाता खोल्न सकेनन् । लोकसभा निर्वाचनमा भारी बहुमतका साथ दोस्रो पटक केन्द्रको सत्ता पुगेको भाजपालाई केजरीवाल नेतृत्वको आम आदमीले ठूलो झट्का दिएको छ । जसरी लोकसभा चुनावमा भाजपाले नरेन्द्र मोदीलाई अघि सारेको थियो, आम आदमीले पनि दिल्लीमा केजरीवाललाई त्यही तरिकाले अघि र्सायो ।
दिल्लीमा आम आदमीको मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको भाजपाले चुनावअघि मुख्यमन्त्रीको रुपमा कसैलाई पनि अघि सार्न सकेन । यसको सोझो फाइदा आम आदमीलाई भएको बताइएको छ । किनकी आम आदमीले केजरीवाललाई नै मुख्यमन्त्रीको रुपमा अघि सारेर चुनावमा होमिएको थियो । केजरीवालले तीन वर्षअघि २०१७ देखि नै चुनाव लक्षित कार्यक्रम अघि सारेको सरोकारवाला बताउँछन् ।
यसका कारण आम आदमीको आम नागरिकसँगको सम्बन्ध बलियो बन्दै गयो । यसको परिणामा चुनावको नतिजामा स्पष्ट देखिएको छ । केजरीवाल सरकारले सार्वजनिक बस तथा रेलमा महिला तथा छात्राहरुका लागि निशुल्क यात्राको समेत व्यस्था र्गयो । दिल्लीको कुल जनसंख्याको करिब १४ प्रतिशत मुस्लिम समुदाय रहेको तथ्यांक छ । उनीहरुको भोट पनि आम आदमीलाई नै गएको हुनसक्ने विश्लेषण गरिएको छ ।
को हुन् केजरीवाला ?
हाल दिल्लीका मुख्यमन्त्री रहेका अरविन्द केजरीवालको जन्म सन् १९६८ अगष्ट १६ हरियाणाको सिवनीमा भएको थियो । उनी मेकानिकल इन्जिनियरिङमा आफ्नो अध्ययन पूरा गरेपछि सरकारी सेवामा प्रवेश गरेका थिए । उनले भारतको राजश्व सेवामा काम गरेका थिए । सन् १९९९ मा उनले परिवर्तन नामको एउटा गैरसरकारी संस्थाको स्थापना गरे जसको मुख्य उद्देश्य आम नागिरकलाई विजुली, आयकर र खाद्यान्न सम्बन्धी सहयोग गर्नु थियो । उनलाई कमजोर आय भएका मानिसहरुको सशक्तिकरणमा पुर्याएको योगदानको सम्मान गर्दै सन् २००६ मा एसियाको नोवेल पुरस्कार मानिने रोमन म्यागासेसे पुरस्कार समेत प्रदान गरिएको थियो ।
लामो समयसम्म भ्रष्टाचारविरुद्धको अभियानमा संलग्न रहेका केजरीवालले सन् २०१२ मा आम आदमी पार्टी (आप)को गठन गरेका थिए । सन् २०१३ मा भएको दिल्ली विधानसभा निर्वाचनमा उनको पार्टी आम आदमीले ७० मध्ये २८ सिटमा जित हात पारेको थियो । त्यतिवेला उनले कांग्रेसको समर्थनमा दिल्लीमा सरकार बनाएका थिए । तर उनी लामोसमयसम्म सत्तामा रहन सकेनन् । दिल्लीमा फेरि २०१५ मा विधानसभा चुनाव भयो । उक्त चुनावमा ७० मध्ये ६७ सिट जित्दै उनी फरि दिल्लीको सत्तामा पुगेका थिए । जतिवेलामा भाजपा ३ सिटमा खुम्चिएको थियो ।
सत्यपाटी ।