सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीको नयाँ आइजिपीमा ज्ञवाली नियुक्त, चार महिना २५ दिन कार्यकाल

काठमाडौं । सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले एकैपटक प्रहरी निरिक्षक (इन्सपेक्टर) पदका लागि प्रतिस्पर्धा गरेका थिए । तर ज्ञवालीको नाम निस्कियो, वैकल्पिकमा । खनाल २०४६ साल माघ २९ गतेदेखि लागु हुने गरि नेपाल प्रहरीमा प्रहरी निरिक्षक पदमा नियुक्त भए । एक वर्षभित्र दरबन्दी रिक्त भए वैकल्पिकले अवसर पाउँथे ।

यही कारण ज्ञवालीले पनि अवसर पाए तर खनालले जागिर सुरु गरेको करिब पाँच महिनापछि । ज्ञवालीसहित वैकल्पिक सूचीका केही उमेद्धवारले २०४७ साल असार २५ गतेबाट लागु हुने गरि प्रहरी निरिक्षकको नियुक्ती पाएका थिए । मंगलबार खनालले ३० वर्षे सेवा अवधीका कारण सेवाबाट अवकाश पाएका छन्, प्रहरी प्रमुख आइजिपी भएर । मंगलबार नै सरकारले नेपाल प्रहरीको नयाँ प्रमुखमा ज्ञवालीलाई नियुक्त गरेको छ ।

ज्ञवालीले अब २०७७ साल असार २४ गते अर्थात चार महिना २५ दिनका लागि नेपाल प्रहरीको नेतृत्व गर्नेछन् । वर्तमान प्रहरी नियमावली यथावत् रहे त्यसपछि उनले ३० वर्षे सेवा अवधिका कारण सेवाबाट अवकाश पाउने छन् । मंगलबार खनालको ब्याचका १८ नायब महानिरिक्षक(डीआईजी र तीन अतिरिक्त महानिरिक्षक एआइजीले सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदै गर्दा त्यसपछिका सबैभन्दा सिनियर डीआइजी थिए ज्ञवाली ।

प्रहरी नेतृत्व चयनमा विगत केही समययता भइरहेको हस्तक्षेपलाई बिर्सँदै सरकारले ज्येष्ठता र वरिष्ठताका आधारमा ज्ञवालीलाई नियुक्त गरेको हो । यसअघि पछिल्ला दुई आईजिपी नियुक्तीमा सरकार विवादमा परेको थियो । नेपाली कांग्रेस नेतृत्वको सरकारले ज्येष्ठता र वरिष्ठतालाई मिचेर जयबहादुर चन्दलाई आइजिपी नियुक्त गरेपछि सरकारको निर्णय विवादमा तानिएको थियो ।

तत्कालिन पहिलो नम्बरमा डीआइजी नवराज सिलवाल सरकारको नियुक्तीविरुद्ध सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले सरकारको निर्णय उल्टाए पनि सिलवाल आईजिपी बन्न सकेनन् । सरकारले कार्य सम्पादन मुल्यांकनमा तत्कालिन दोस्रो नम्बरमा डीआईजी प्रकाश अर्याल पहिलो नम्बरमा आएको भन्दै उनलाई नियुक्त गरेको थियो । त्यसपछि सिलवालले राजिनामा दिएका थिए ।

मंगलबार अवकाश पाएका आइजिपी खनालको नियुक्ती पनि विवादरहित बन्न सकेन । एसएसपीसम्म बढुवा हुँदा कहिल्यै पहिलो नम्बरमा नरहेका खनाल डीआइजीमा पुग्दा पहिलो नम्बरमा रहे । पछि सरकारले खनाललाई आइजिपी नियुक्त गर्यो । एसएसपीबाट बढुवा भएको एक वर्ष पनि वित्न नपाउँदै खनाल आईजिपी नियुक्त भएका थिए । सरकारको दावी थियो, खनाल ज्येष्ठता र वरिष्ठताका आधारमा पहिलो नम्बरमा छन् ।

तर प्रहरी निरिक्षकबाट एसएसपीसम्म बढुवा हुँदा हरेकमा वरियतामा पहिलो नम्बरमा रहेका रमेश खरेलले सरकारले विभेद् गरेको भन्दै खनाललाई आइजिपी नियुक्त गरेलगत्तै राजिनामा दिएका थिए । खनाललाई एसएसपीबाट डीआइजीमा बढुवा गरिँदा नै धाँधली भएको उनको आरोप थियो । ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने प्रहरी नियमावलीका कारण पुन एकपटक नेपाल प्रहरीले डीआइजीबाट सोझै आईजिपी पाएको छ ।

नीतिगत अभ्यास गर्ने दर्जा मानिएको एआइजीको अनुभव बिनै प्रहरी अधिकृतले संगठनको नेतृत्व गरिरहेका छन् । यसअघि पछिल्ला दुई आइजिपीको पालामा पनि यस्तै भएको थियो । ज्ञवालीलाई नयाँ आइजिपी नियुक्त गर्नुभन्दा केही समयअघि नै प्रहरीको नयाँ नेतृत्वलाई लिएर अनेक हल्ला चलेको थियो । सरकारले ६ महिना थपेर खनाललाई नै आइजिपीमा निरन्तरता दिनेदेखि खनाललाई राजिनामा दिन लगाएर एआइजी पुस्कर कार्कीलाई निमित्त आईजिपीको जिम्मेवारी दिने र नियमावली संसोधन गरि ३० वर्षे सेवा अवधीलाई ३२ मा पुर्याई कार्कीलाई दुई वर्षका लागि प्रहरी नेतृत्व सुम्पनेसम्मको सरकारी तयारी रहेको भनि चर्चा चलेको थियो ।

तर प्रहरीको सेवा अवधीलगायत विषय प्रहरी ऐनमा समावेश गर्नुपर्ने सर्वोच्च अदालतको यसअघिको आदेश रहेका कारण सरकारले त्यस्तो निर्णय लिन सक्नेमा आशंका पनि गरिएको थियो । २०५८ साल बैशाख १८ गते प्रहरी नायब उपरिक्षक (डीएसपी)मा बढुवा भएका ज्ञवाली २०६६ मंसिर ३ गते प्रहरी उपरिक्षक (एसपी) र २०७३ साल असार २८ गते प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)मा बढुवा भएका थिए । उनी २०७५ साल असोज २८ गते डीआइजीमा बढुवा भएका हुन् । ज्ञवालीका एक छोरी र एक छोरा छन् । उनले राजनीति शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार ०७:२४