सूचनाको शक्ति - The Power Of Information

        

कोरोना भाइरसको असरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम प्रभावित

बुटवल । चीनबाट फैलिएको कोरोना भाइरसको प्रभाव नेपालको विकास निर्माणमा समेत देखिन थालेको छ । चीनबाट आयत हुने उपकरण, प्राविधिक र मजदुर नेपालका अधिकाँश विकास निमार्णका काममा जोडिएकाले त्यसको प्रभाव यहाँ देखिएको हो । चीनमा कोरोना भाइरसको महामारीका कारण त्यहाँका मजदूरहरु आउन नसक्दा त्यसको असर विकास आयोजनाहरुमा पर्न थालेको छ ।

त्यसैको एउटा उदाहरण हो निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । चीनबाट आयत गर्नुपर्ने उपकरण र चिनियाँ प्राविधिकहरुको कारणले भैरहवामा निर्माणाधिन उक्त विमानस्थल निमाणको काममा प्रत्यक्ष असर देखिन थालेको जनाइएको छ । विमानस्थल निर्माणको लागि प्राविधिक जनशक्ति चीनबाट आउन नसक्दा उपकरण जडानको काम प्रभावित हुन थालेको विमानस्थल सुदृढीकरण कार्य आयोजना इकाई भैरहवाका प्रमुख प्रवेश अधिकारीले बताए ।

उनले केही उपकरण चीनबाट ल्याउन अप्ठारो भएको र यहाँ काम गरिरहेका चिनियाँ प्राविधिकहरु पनि नयाँ वर्ष मनाउन चीन गएपछि नफर्किएको उनले बताए । निर्माणको अन्तिम चरणमा रहेको विमानस्थलमा चिनियाँ मजदूरहरु आउन ढिला भएमा समयभित्र काम सम्पन्न गर्न कठिनाई हुने आयोजना पक्षको भनाई छ । अआइसीबी–२ अन्तरगतका करिब ९५ प्रतिशत उपकरण तथा आइसीबी–१ अन्तरगतको ८५ प्रतिशत बढी समान आइसके पनि चिनियाँ मजदूरको आगमनमा ढिलाई भए निर्माणको काम प्रभावित हुने बताइएको छ ।

दक्ष प्राविधिक जनशक्तिकै अभावमा ती उपकरणहरु जडानमा चुनौती थपिएको छ । उक्त विमानस्थलमा अहिले जम्मा १८० जना कामदारले निर्माणको काम गरिरहेका छन् । ४० जना चिनियाँ कामदारहरु अहिले फिल्डमा आवश्यक देखिएको छ तर २० जनामात्रै अहिले काममा खटिरहेका आयोजनाले जानकारी दिएको छ । त्यसका साथै चीनबाट आयात गर्नुपर्ने उपकरणहरु ल्याउन चुनौती थपिएको र उपकरण जडानमा समेत समस्या देखिएको अधिकारीले बताए । अहिले चीनबाट हवाई उडान हुन नसक्दा रनवेमा प्रयोग हुने केही बत्ती तथा ब्यागेज ह्याण्डिलिङ्ग सिस्टम आउन नसकेको उनले बताए ।

३१ डिसेम्बर २०१४ मा काम शुरु भएको आयोजनाको सूरुवाती चरणमा केही ढिलो भएपनि पछिल्लो २ वर्षमा कामले गति लिएको छ । विमानस्थलको रनवेको काम करिब सकिएको छ । यस्तै एप्रोनको काम पनि सकिएको छ भने फिनिसिङ्गको काम ४ प्रतिशत मात्र बाँकी रहेको छ । अधिकारीले आयोजना थपिएको समयमा सकिने सम्भावना अहिले पनि कम भएको बताए । उनले मार्चको मध्यसम्म पनि चीनबाट आउने सामान र जनशक्ति आउन सके मार्च अन्तिम सम्ममा विमानस्थल सञ्चालन योग्य हुने दावी गरे । यसअघि ३ पटक म्याद थप गरिसकेको विमानस्थलले चौथोपटक मार्च ३१, २०२० सम्मको लागि पुनः म्याद थपेको छ ।

सरकारले ६ अर्ब ८२ करोड रुपैयाँमा ‘आइसिबी–एक’ अन्तरगत विमानस्थलको ३ हजार मिटरको रनवे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो । यस्तै आइसिबी–२ अन्तर्गत विमानस्थलमा जडान हुने उपकरणहरुका लागि ५० करोड विनियोजन भएको छ । सुरुमा भूकम्पका कारण विमानस्थल निर्माणमा ढिलाई भएको थियो भने अहिले चीनमा देखिएको कोरोना भाइरसका कारण समस्या देखिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलवार १६:३४