सूचनाको शक्ति - The Power Of Information

        

अख्तियारमा उजुरीका चाङ, अनुसन्धानमा अख्तियारकै बेवास्ता

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीका चाङ छन्, तर अनुसन्धानमा अख्तियारकै बेवास्ता देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगन्जमा दर्जनौं उजुरी परे पनि अख्तियारको कार्यालय र यहाँका कर्मचारीले ती उजुरीको अनुसन्धानमा बेवास्ता गर्दै आएका छन् ।

संघीयतापछि स्थानीय तहबाट भएका कामका सम्बन्धमा अख्तियारमा उजुरीको चाङ् नै लागेको छ । आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा चालु आर्थिक वर्षको ६ महिनामा ४५८ वटा उजुरी परेका छन् । यसले अख्तियार नै मुद्दाको अनुसन्धान र फच्छ्र्यौटमा संवेदनशील नभएको देखिन्छ । नेपालगन्ज सम्पर्क कार्यालयले बाँके, बर्दिया र दाङ जिल्लालाई हेर्ने गर्दछ ।

यी जिल्लाबाट ६ महिनामा ४५८ वटा उजुरी परेका छन् । आयोगको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेका अनुसार तीन जिल्लामध्ये बाँकेमा सबैभन्दा बढी उजुरी परेका छन् । बाँकेमा ३१० वटा उजुरी परेका छन् । दाङमा १४२ र बर्दियामा १०६ वटा उजुरी परेको कार्यालयले जनाएको छ ।

ती उजुरीमध्ये बाँकेमा ५६ वटा, दाङमा ३३ र बर्दियामा २२ वटा फच्छ्र्यौट भएका छन् । ४५८ मध्येमा १११ वटा फच्छ्र्यौट हुँदा ३४७ वटा उजुरीमा अनुसन्धान भइरहेको आयोगका प्रमुख गैरेले बताए । सम्पर्क कार्यालय नेपालगन्जमा परेका उजुरीमध्येमा सबैभन्दा बढी संघीय तथा स्थानीय तहका छन् ।

संघीयमा १३९, शिक्षामा १०२, वनमा ५६, भूमिमा ४०, स्वास्थ्यमा २३, भौतिक, पूर्वाधार तथा यातायातमा १६, गृहमा १३, खानेपानी र शहरी विकासमा १० र अन्यमा २६ वटा उजुरी परेको कार्यालय प्रमुख गैरेले बताए । अख्तियारको नेपालगन्ज कार्यालयमा पर्याप्त जनशक्ति नहुँदा उजुरी अनुसन्धानमा असर परेको आयोगका प्रमुख गैरेको भनाई छ ।

उनका अनुसार आयोगमा अहिले २८ जनाको दरबन्दी छ, जसमध्ये ३ जनामात्रै अनुसन्धान अधिकृत कार्यरत छन् । आयोगमा पछिल्लो सात महिनादेखि प्राविधिक जनशक्ति थिएनन् । भर्खरै आएका हुन् । यससँगै नेपालगन्ज कार्यालयमा ४० जनाको दरबन्दी पुर्याउने तयारी भइरहेको आयोगले जनाएको छ ।

पटक–पटक दक्ष जनशक्तिको अभावका कारण अनुसन्धान कार्य प्रभावकारीरुपमा गर्न नसकेको आलोचना खेपिरहेको छ । अख्तियारले संविधान, कानूनबमोजिम सशक्त नबनाउनु, आयुक्तहरू नियुक्त गर्दा राजनीतिक प्रभाव अख्तियारको दायराभन्दा बाहिर संस्थाहरु रहनुजस्ता कारणले अख्तियारले सक्षमतापूर्वक काम गर्न नसकेको विज्ञहरुको बुझाइ छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलवार ०७:५४