सूचनाको शक्ति - The Power Of Information

        

छोराछोरीले रुँदै फोन गर्छन्, हामी कहाँ जाऊँ ?

कोरोनाको कहर

काठमाडौं । ‘हाम्रो स्वास्थ्य एकदमै कमजोर बन्दैछ सर ! हामीलाई उद्धारमा सहयोग गर्नुहोस्,’ चीनको वुहानमा रहेका डा.गौरब पाख्रेलले वेब च्याटमा भिडियो कलमार्फत् राष्ट्रिय मानअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई आइतबार आग्रह गर्दै भनेको वाक्य हो यो । चीनमा रहेका आफूहरुका छोराछोरी र आफन्तलाई तत्काल नेपाल ल्याइदिन आग्रह गर्दै अभिभावकहरु लगातार हारगुहारमा छन् । कहिले स्वास्थ्य मन्त्रालय त कहिले परराष्ट्र मन्त्रालय पुगेका उनीहरु आइतबार मानवअधिकार आयोगमा पुगेका थिए ।

आयोगका अध्यक्ष शर्माले त्यहाँ रहेका नेपालीको अवस्थाका बारेमा डा. पोखरेललाई सोधेको प्रश्नमा उनले चीनबाट जवाफ दिए, ‘अहिले अन्य देशका नागरिक यहाँबाट निस्किसके । तर हामीलाई उद्धार गर्ने कोही भएन । हाम्रो होस्टलमा एकसय जना विद्यार्थी थियौं तर अहिले ६ जना नेपालीबाहेक अरु कोही पनि छैनौं । हामीलाई अहिलेसम्म कोरोना भाइरस देखिएको छैन । सरकारले जति ढिलो गर्छ हामी त्यति बढी जोखिममा हुनेछौं । किनकि यहाँ कोरोनाले मृत्यु हुनेको संख्या बढिरहेको छ ।’

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार तयारी पूरा नभएको नेपाल सरकारले बताएको भए पनि त्यस्तो मापदण्ड नभएको उनको टिप्पणी थियो । ‘म आफैं पनि चिकित्सक हुँ,’ डा.पोखरेलले भने, ‘प्रधानमन्त्री बिरामी हुँदा तत्काल सिंगापुर लगियो तर हामीलाई उद्धार गर्न सरकार निदाएको हो कि के हो ?’ डा.पोखरेलको भनाइ सुनिसकेपछि आयोगका अध्यक्ष अनुपराज शर्माले नेपाल सरकारको तत्कालै ध्यानाकर्षण गराउने बताए । आयोगमा पुगेका एकजना अभिभावक उमेशबाबु सिंहका ज्वाइँले पनि भिडियोमा शर्मालाई त्यहाँ भएको अप्ठेरोको बारेमा जानकारी गराएका थिए ।

‘यहाँ खानेकुरा कुहिएको छ । राम्रोसँग खान पाइएको छैन । घरभित्र एकैठाउँमा थुनेर राखेको छ,’ उनले भने । पाटनकी ललितमाया ताम्राकारले पनि चीनमा आफ्नो सन्तानको अवस्थाका बारेमा मानवअधिकार आयोगसमक्ष जानकारी गराइन् । ‘वुहानमा रहेकी छोरीले रुँदै फोन गर्छे,’ आँखाभरि आँसु लिएर उनले भनिन्, ‘सरकार ! कोरोना नलाग्दै हाम्रा छोराछोरी ल्याइदेऊ ।’ वुहानमा रहेकी छोरी नेपाल ल्याउन सरकारले नै चासो नदिएको अर्का अभिभावक डा. मोहन खतिवडाको धारणा थियो ।

चीनस्थित नेपाली दूतावासले एक साताअघि नै नेपाल जान चाहनेलाई फर्म भराएको थियो । ‘फर्म मात्र भरायो । ल्याउन चासो दिएन,’ उनी पनि आँखाभरि आँसु बगाउँदै भने, ‘हरेक दिन छोरीले रुँदै बाबा हामीलाई कहिले उद्धार गर्छ, खान पनि पाउँदैन, बाथरुमको पानी उमालेर खानुपरेको छ, भन्दै फोन गर्छे । हामीलाई कस्तो भएको होला ?’ अभिभावकहरुले सबै मन्त्रालयको ढोका चहार्दा पनि केही सिप नलागेको बताए ।

‘प्रधानमन्त्रीज्यू, मुरली बजाउन व्यस्त हुनुहुन्छ । वुहानमा रहेका हाम्रा छोराछोरीले हरेक दिन रुँदै फोन गर्छन्,’ अभिभावक दिनेश श्रेष्ठ भन्छन्, ‘सबै मन्त्रालयको ढोका ढक्ढक्यायौँ तर एकले अर्कालाई देखाउँछन् । अर्काले अर्कालाई ।’ उनीहरुले सरकारले ल्याउने व्यवस्था गरिदिए आफूहरुले जग्गा जमिन बेचेर भए पनि छोराछोरीलाई ल्याउन चाहेको बताउँछन् । गत शनिबार माघ १८ गते चीनमा रहेको नेपाली राजदूतावासले चीनबाट फर्किन चाहने नेपालीका लागि फारम भर्न सूचना जारी गरेको थियो ।

त्यसमा १८० जना नेपाली विद्यार्थीहरुले फर्म भरेका थिए । फर्म भरेको करिब १० बित्दासमेत उनीहरुलाई उद्धार गर्नमा कुनै कदम चालेका छैनन् । कोरोनाका कारण चीनमा ८०० बढीको ज्यान गइसकेको छ । चीनमा रहेका विभिन्न ३२ वटा मुलुकले आफ्ना नागरिक लगिसकेका छन् भने नेपाल, पाकिस्तान लगायतका मुलुकले भने अहिलेसम्म पनि आफ्ना नागरिकको उद्धार गर्न सकेका छैनन् ।

 

#बाह्रखरी

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार ०७:४६