सूचनाको शक्ति - The Power Of Information

        

आदर्श सासु–बुहारी सम्मानित

कोहलपुर । सम्मान गर्ने र लिने आ–आफ्नै तरिका हुन्छन् । कोहलपुर–११ बसपार्क रोडमा अवस्थित वनवाटिका टोल सुधार समितिले कोहलपुर नगर क्षेत्रभित्र रहेका आदर्श सासु तथा बुहारीलाई सम्मान गरी नयाँ कार्यको शुरुआत गरेको छ । समितिद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा आदर्श सासुमा कोहलपुर नगरपालिका–२ निवासी लक्ष्मी भुसाल र बुहारीमा वडा नं ११ की शीखा गौतम श्रेष्ठ सम्मानित भए ।

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले उनीहरुलाई सम्मान गर्दै नगरभित्रका सबै सासु–बुहारी आदर्श बन्न सक्नुपर्ने बताए । सासुले बुहारीलाई छोरीकै रूपमा हेर्नुपर्ने र बुहारीले सासुलाई आमाको रूपमा स्वीकार्न गरेमा आदर्श परिवार निर्माण समस्या नहुने उनले चर्चा गरे । नगरपालिकाले हरेक वर्ष नगरपिता र नगरमाताका रूपमा दुई वृद्धवृद्धालाई सम्मान गर्दै आएको छ । जिल्लामै पहिलोपटक आदर्श सासु–बुहारी सम्मान गर्ने योजना अघि सारिएको टोल सुधार समितिका अध्यक्ष हरिप्रसाद पौडेलले जानकरी दिए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतवार ०९:३५