सूचनाको शक्ति - The Power Of Information

        

कोरोनासँगै चीनमा उठ्यो स्वतन्त्रताको माग, जनतामा जनआक्रोश बढ्यो

काठमाडौं । अमेरिका–चीनबीचको लामो व्यापार युद्ध अन्त्य गर्ने सहमतिका लागि दुबै देशका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भइरहेको थियो । यही समयमा नयाँ वर्ष मनाउने तयारी पनि चलिरहेको थियो । तर, नयाँ वर्षको उल्लासमा रमाउन नपाउँदै चीनले विपत्तिको सामना गर्नुपर्यो ।

चीनको हुबेइ प्रान्तको वुहानमा पहिलो पटक देखिएको नोभेल कोरोना भाइरसको संक्रमणले अहिले विश्व नै त्रसित बनेको छ । चीनमा कोरोनाका संक्रमितहरु बढिरहेका थिए, तर, महामारीको रुप लिइ नसकेको समय जनवरी १५ मा अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धलाई कम गर्ने विषयमा सम्झौता भयो ।

दुबै मुलुकले सम्झौताबाट लाभ लिन सकिने र उक्त सम्झौता ऐतिहासिक भएको प्रतिक्रिया दिएका थिए । लामो समयदेखि दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको तनावले विश्व अर्थतन्त्र नै प्रभावित भएको थियो । तर, उक्त सम्झौतापछि भने विश्वबजार चलायमान हुने अनुमान विश्वका विभिन्न मुलुकका अर्थज्ञाताहरुले गरेका थिए ।

तर, कोरोनाको संक्रमण फैलिने दर बढ्दै गयो । कोरोना संक्रमितहरु हङकङ, ताइवान, थाइल्यान्ड, जापान, दक्षिण कोरिया, नेपाल हुँदै अमेरिकासम्म पुग्यो । अमेरिकामा पनि कोरोना संक्रमित भेटिएपछि अमेरिका झस्कियो । अमेरिकाले तत्कालै यस विषयमा विभिन्न तवरबाट प्रतिक्रियाहरु दिन थाल्यो ।

चीनमा कोरोनाको संक्रमणबाट मानिसहरु मर्नेक्रम बढेसँगै संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई फिर्ता लिने घोषणा गर्यो । अमेरिकाले आफ्ना नागरिक फिर्ता लिन सुरु गरेपछि अस्ट्रेलिया, बेलायत, भारत लगायतका मुलुकहरुले वुहानमा रहेका आफ्ना नागरिकलाई फिर्ता लगे । अहिले वुहानबाट अधिकांश मुलुकले आफ्ना नागरिक फिर्ता लगिसकेका छन् ।

नेपालले पनि आफ्ना नागरिक फिर्ता लिने तयारी गरिरहेको छ । अमेरिका लगायतका मुलुकहरुले आफ्ना नागरिक फिर्ता लिने घोषणा गरेसँगै विश्व स्वास्थ्य संगठनको टोली चीन पुगेर कोरोनाको अवस्थाबारे बुझेको थियो । चीनबाट फर्किएपछि ३० जनवरीमा बसेको विश्व स्वास्थ्य संगठनको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपतकालीन समितिको बैठक बस्यो ।

उक्त बैठकले कोरोना तिव्ररुपमा फैलिरहेको उल्लेख गर्दै विश्व स्वास्थ्य आपतकाल घोषणा गर्यो । विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपतकाल घोषणा गरुन्जेलसम्म कोरोना संक्रमितको संख्या चीनसहितका विभिन्न १९ मुलुकमा गरी सात हजार ८१८ जना पुगेको थियो भने २१३ जनाले ज्यान गुमाएका थिए । विश्व स्वास्थ्य संगठनले १३ जनवरीमा यस भाइरसलाई २०१९–एनकोभ नाम दिएको थियो ।

तर, चीनले भने ७ जनवरीबाटै यो फरक किसिमको भाइरस भएकोले बिरामीलाई आइसोलेसनमा राखेर उपचार गर्नेपर्ने सुझाएको थियो । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेलगत्तै अमेरिकाले नै पहिलो पटक चीनको वुहानबाट आउने विदेशी नागरिकमाथि प्रतिबन्ध लगायो । त्यसको सिको गर्दै अन्य मुलुकहरुले पनि चीनको वुहानमा १४ दिनदेखि रहेका सम्पूर्ण विदेशी नागरिक प्रवेशमा रोक लगाए ।

विश्व स्वास्थ्य आपतकाल घोषणा, वुहानमा रहेका विदेशी नागरिक फिर्ता, चिनियाँ पर्यटकमाथि प्रतिबन्ध, सीमा नाकामा बन्दलगायतका कुराहरु एकसाथ गर्दा चीन अमेरिकासँग झोक्कियो । अमेरिकाले अनुचित ढंगले निकै अगाडि प्रतिक्रिया दिएकोमा चीनले आलोचना गर्यो । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले २ फेब्रुअरीमा कोरोना भाइरसको प्रकोपका विषयमा अमेरिकाले अनुपयुक्त प्रतिक्रिया दिएर व्यापक त्रास फैलाउने गरी भ्रम फैलाएको आरोप लगाएकी थिइन् ।

विदेश मन्त्रालयकी प्रवक्ता ह्यु चुङयिङले भनेकी थिइन्, ‘अधिकांश मुलुकहरुले कोरोनाको प्रकोप रोक्न गरेको प्रयासको तारिफ गरेका छन् । हामीले त्यो विषय राम्ररी बुझेका छौं र ती मुलुकहरुप्रति सम्मान व्यक्त गर्दछौं । ती मुलुकहरुले सीमानाकामा क्वारेन्टाइन विधिलाई अवलम्बन पनि गरेका छन् । तर, यस परिस्थितिमा केही मुलुक, विशेष गरी अमेरिकाले अनुचित प्रतिक्रियाहरु दिइरहेको छ ।’

विदेश मन्त्रालयको उक्त प्रतिक्रियालगत्तै चिनियाँ सञ्चारमाध्यमहरुले अमेरिकाको सन् २००९–२०१० को महामारीको प्रसंग उप्काएर त्यस समयमा चीनले कुनै प्रतिक्रिया नदिएको विषयलाई जोड्न थाले । सन् २००९–१० मा अमेरिबाट फैलिएको एच१एन१ (स्वाइन फ्लु) बाट विश्वभर ६ करोड ८० लाख मानिसहरु संक्रमित भएका थिए भने १२ हजार ४६९ जनाको मृत्यु भएको थियो ।

उक्त भाइरसबाट मृत्यु हुनेदर अहिलेको कोरोनाभन्दा स्वाइन फ्लुको बढी भएको बैंकक पोस्टले उल्लेख गरेको छ । चीनले पनि कोरोना नियन्त्रणमा आफ्ना केही गल्ती कमजोरी भएको स्वीकार गरिसकेको छ । बिहीबार ६ फेब्रुअरीमा यस विषयमा चिनियाँ राष्ट्रपति सी जिन पिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको थियो । वार्ताका क्रममा चिनियाँ राष्ट्रपतिले कोरोनाको संक्रमण रोक्न हर प्रयास गरिरहेको बताएका थिए ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सीले बिहीबार टेलिफोन संवादका क्रममा भनेका थिए, ‘चीनले विस्तारै कोरोना नियन्त्रणका विषयमा सकारात्मक परिणाम हात पारिरहेको र दीर्घकालीन आर्थिक विकासमा कुनै असर नपर्ने गरी यस महामारीलाई निस्तेज पार्नेमा विश्वस्त छौं ।’ यसरी अमेरिकालाई आश्वस्त पार्न चिनियाँ राष्ट्रपतिले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ’स्पष्टिकरण’ नै दिनुपर्यो । यस महामारीका कारण दुई मुलुकबीचको सम्बन्धमा कुनै दरार नआओस् भन्नेमा चीन सचेत भएको समेत देखिन्छ ।

अभिव्यक्ति स्वतन्त्रताको माग !

चीनमा पहिलोपटक डिसेम्बर ३० मा वुहान केन्द्रीय अस्पतालका आँखा रोग विशेषज्ञ डा. लि वेनलियाङले नोभेल कोरोना भाइरसको संक्रमण भएको चेतावनी दिएका थिए । उनलाई प्रहरीले अनावश्यक हल्ला फैलाएर त्रास बढाएको भन्दै यसबारे नोबोल्न चेतावनी दिएका थिए । त्यसपछि वुहान अस्पतालमा उपचारका लागि आएकी एक महिलाको उपचारको जिम्मा डा. वेनलियाङले पाए ।

उनलाई कोरोनाको संक्रमण भएको रहेछ । ती महिलाबाटै डा. वेनलियाङलाई पनि कोरोनाको संक्रमण सर्यो र त्यही कोरोनाले उनको ज्यान लियो । चीन सरकारले आफ्ना कमजोरीहरु स्वीकार गरिसकेको र कोरोनाको इपिसेन्टर वुहानका मेयरले पनि आफूले कोरोना नियन्त्रणमा चुकेको स्वीकार गरिसकेको बेला भएको चिकित्सकको मृत्युले चिनियाँ जनतामा जनआक्रोश बढाएको छ ।

चिनियाँहरुले त्यहाँको सामाजिक सञ्जाल विबोमार्फत अभिव्यक्ति स्वतन्त्रताका कारण कोरोनाको संक्रमण फैलिएको र चिकित्सकको मृत्यु भएको निचोडसहित सरकारविरुद्ध खनिएका हुन् । त्यहाँको सामाजिक सञ्जाल विबोमा दुईवटा ह्यासट्यागहरु ट्रेन्डिङमा आएका थिए । जसमा ‘डा.वेनलियाङको मृत्युप्रति सरकारले माफी माग्नुपर्ने’ र ‘हामीलाई अभिव्यक्ति स्वतन्त्रता चाहियो’ थिए । तर, उक्त दुवै ह्यासट्यागहरु तत्कालै चीन सरकारले सेन्सर गरेको बीबीसीले जनाएको छ ।

बीबीसीले विबोमा उक्त ह्यासट्यागहरु खोजी गर्दा लाखौं कमेन्टहरु हटाइएको थियो भने थोरै मात्र त्यहाँ रहेको पाइएको छ । विबोमा एउटा कमेन्टमा भनिएको छ, ‘एक कोरोनाका साक्षीको मृत्यु भएको नभई एक वास्तविक हिरोको मृत्यु भएको छ ।’ अर्कोले भनेका छन्, ‘यहाँ सत्यलाई सधैं हल्लाका रुपमा लिइयो । हामीले कहिलेसम्म झुटो बोलिरहन्छौं ? अब लुकाउन बाँकी के छ ?’ साम्यवादी मुलुकमा अहिले विपदको समयमा अभिव्यक्ति स्वतन्त्रताको माग किन उठाइयो र यसमा कसको हात छ भन्ने विषयमा चीनले गम्भीर चासो व्यक्त गरेको छ ।

यसअघि हङकङमा पनि विवादित सुपुर्दगी विधेयकको विरोधबाट सुरु भएको जनआक्रोश पनि पछि गएर अभिव्यक्ति स्वतन्त्रता र प्रजातन्त्रको माग गरिरहेको छ । हङकङका विषयमा चीनले सुरुदेखि नै अमेरिकाले विरोधीहरुलाई उकासिरहेको उल्लेख गर्दै चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनीसमेत दिएको थियो । अहिले पनि हङकङमा चिकित्सकहरु चीनसँगका सबै सीमा नाका पूर्णरुपमा बन्द गर्नुपर्ने माग गर्दै आन्दोनलमा छन् । हङकङमा वुहानबाट आएका एकजना हङकङबासीको मृत्यु भइसकेको छ ।

सन् २००२–००३ मा फैलिएको सार्स भाइरसको महामारीको प्रत्यक्ष मार खेपेको हङकङ यसबेला सचेत देखिन्छ । तर, अहिले विपद्को बेलामा पनि हङकङलाई उचालेर चीनविरुद्धका गतिविधि गराउन पश्चिमा शक्ति विशेषरुपमा अमेरिका सक्रिय रहेको चीनको बुझाई छ । चीनले अहिले पनि अमेरिकाले अनावश्यक टिप्पणी गरेको आपत्ति जनाइरहेको छ । उता ताइवानले पनि चीनले ताइवानको कोरोना संक्रमणको विषयमा गलत रिपोर्टिङ गरेकोमा आपत्ति जनाएको छ । ताइवानले विश्व स्वास्थ्य संगठनमा संक्रमितको रिपोर्टिङमा बढाएको आरोप लगाएको छ ।

खोप बनेको छैन !

अहिले देखिएको कोरोना भाइरसविरुद्धको कुनै खोप बनिसकेको छैन । अमेरिका, चीनलगायतका विभिन्न मुलुकका वैज्ञानिकहरु यसको खोप पत्ता लगाउन प्रयासरत छन् । यसको संक्रमण अहिलेसम्म विभिन्न २८ मुलुकमा फैलिइसकेको छ । २३ वटा मुलुकले चीन हुँदै जाने यात्रुलाई प्रवेशमा रोक लगाएका छन् । कोरोनाबाट केही बिरामीहरु निको भएकोसमेत बताइएको छ । यसका लागि एन्टी भाइरल औषधीको प्रयोग गरेर उपचार भइरहेको छ । अहिलेसम्म ७२५ जनाको मृत्यु भइसकेको छ भने ३४ हजार भन्दा बढी संक्रमित छन् । एजेन्सीहरु

प्रकाशित मिति : २६ माघ २०७६, आइतवार ०८:३६