सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि हात्तीपाइलेविरुद्धको अभियान : बाँकेमा ६ लाखलाई औषधि खुवाइँदै

बाँके । सरकारले सन् २०२० मा नेपालबाट हात्तीपाइले रोग निवारण गरिसक्ने लक्ष्य लिएको छ । हरेक वर्ष हात्तीपाइले रोग नियन्त्रण कार्यक्रमका लागि वार्षिक करोडौं रकम खर्च हुँदै आएको छ । तर, पनि बिरामीको यकिन तथ्याकं सरकारसँग छैन । लक्षण देखिएका बिरामीको तथ्यांकसमेत पत्ता लगाउन नसकेकाले सरकारले सन् २०२० सम्म देशभर हात्तीपाइले निवारण गर्न बोकेको लक्ष्य सफल हुने शंका उत्पन्न भएको छ ।

सन् २०२० हात्तीपाइले निवारण गर्ने सरकारी योजना सफल हुनेमा आशंका रहेको छ । नेपालमा सन् २००३ बाट औषधि खुवाउन सुरू गरेको थियो । यसवर्ष आजदेखि प्रस्तावित लुम्बिनी प्रदेशका बाँके, दाङ, बर्दिया र कपिलबस्तुसहित देशभरका १३ जिल्लामा हात्तीपाइले रोगविरूद्धको औषधि खुवाइँदैछ । औषधि सेवनका लागि सरकार वा स्वास्थ्य कार्यालयले पनि स्थानीय तहमा सचेतनात्मक कार्यक्रम गर्न सकेका छैनन् ।

विगत नौं वर्षदेखि बाँकेमा उक्त रोग निवारणका लागि सरकारले लगानी गर्दै आएको स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाह बताउँछन् । बाँकेमा हात्तीपाइलेका विरामीको संख्या र अवस्थामा खासै सुधार आएको देखिँदैन । बाँकेमा अहिले पनि हात्तीपाइलेको उच्च जोखिमै सूचीकृत छ । संघीय सरकार, प्रदेश सरकार र बाँकेका स्थानीय तहले गरी यो बर्ष पौने दुई करोड खर्च गर्न लागेका कार्यालयका स्वास्थ्य अधिकृत अंगत शाही बताउँछन् । सरकारले करोडौं खर्च गरेको छ ।

तर, लक्ष्यअनुसार उपलब्धी नहुँदा सरकारको लगानी बालुवामा पानीझैं बनेको छ । बाँकेमा ६ लाख एक हजार ८७६ जनालार्र्ई खुवाइने छ । यसका लागि ४१६ जना स्वास्थ्यकर्मी र ७८९ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछ । सरकारले करोडौं खर्च गरे पनि नेपालगन्ज उपमहानगरपालिकामा ठूलो संख्याले औषधि सेवन नगरिदिँदा बाँकेमा अभियान नै ‘फेल’ भइरहेको छ । २०६७ देखि बाँकेमा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने कार्य चल्दै आएको छ ।

पहिलो चरणमा भएका केही गल्तीले गर्दा दोस्रो चरणदेखि जिल्लावासीले औषधि खान कम गरिदिएका थिए । दोस्रो वर्ष ४७.४३ प्रतिशतमा झरेको थियो । त्यसपछि ६३.०२ प्रतिशत, ६७ प्रतिशत, ७१ प्रतिशत, ६५ प्रतिशत, ६७.१३ प्रतिशत, ६५.८९ प्रतिशत र सन् २०१९ मा ५४.९८ प्रतिशतले औषधि खाएका थिए । आजदेखि २८ गतेसम्म चल्ने हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने कार्यक्रमका लागि यहाँका सबै स्थानीय तहमा प्रत्येक वडाको घरदैलोमा औषधि खुवाउन स्वास्थ्यकर्मीहरु खटिएका छन् ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार १४:०५