सूचनाको शक्ति - The Power Of Information

        

उद्यमशीलता तालिम औचित्यविहीन

बझाङ । बेरोजगार युवाहरुलाई स्वरोजगार गरी गरिबी निवारण गर्ने उद्देश्यले बझाङका युवालाई दिइने गरेका उद्यमशीलता विकासका तालिमबाट प्रतिफल प्राप्त नभएको गुनासो छ । जिल्लामा रहेका सरकारी तथा गैरसरकारी निकायहरुबाट सञ्चालन हुने स्वरोजगारमुलक तालिमहरुमा सहभागी प्रशिक्षार्थीहरुले तालिमको उपयोगपछि औचित्यविहीन बताएका छन् ।

जिल्लामा उद्यम विकास सम्बन्धी तालिम र लघुउद्यमहरुको प्रवद्र्धन गर्ने जिल्ला घरेलु तथा साना उद्योग समितिमार्फत तालिम लिएका व्यक्तिहरुले तालिमको सदुपयोग नगर्दा जिल्लामा उद्योग, उद्यमीहरुको विकास हुन नसकेको चुनौति देखाएको छ । सदरमुकाम चैनपुरमा आयोजना गरिएको स्थानीय सरकारका जनप्रतिनिधिहरुसँग गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमको बारेमा छलफल, अन्तरक्रिया गर्दा यस्तो खालको समस्या देखिएको हो ।

जिल्लामा घरेलु विकास समितिमार्फत हालसम्म दुई हजारबढी व्यक्तिलाई विभिन्न प्रकारका उद्योग व्यवसाय सम्बन्धी तालिम दिएको भए पनि यसको उपयोग खासै नदेखिएको हुँदा अब स्थानीय तहले उद्यम विकास सम्बन्धी तालिम लिएका व्यक्ति र सम्भावित उद्योग सञ्चालन सम्बन्धि जोड दिनुपर्ने बताए । घरेलु विकास अन्तरगत रहेको मेडपा परियोजनाबाट पनि गएको दुई बर्षमा एक हजार १८ जनालाई विभिन्न स्वरोजगारमुलक तालिम दिएको र तालिम प्राप्त गरेका व्यक्तिहरुले त्यसलाई व्यवहारमा उपयोग नगरेको देखिएको छ ।

घरेलु विकास समितिले वेरोजगार व्यक्तिहरुका लागि कम्प्युटर तालिम, सिलाईकटाई, दालमोट बनाउने तालिम, हाते होजियारी तालिम, अचार बनाउने तालिम, मैनबत्ती, साबुन बनाउने तालिम साथै विभिन्न स्वरोजगार मुलक तालिमहरु दिए पनि यसको उपयोग भने खासै भएको छैन । ‘बझाङमा साना लघुउद्यमहरुको सम्भावना राम्रो छ,’ जिल्ला घरेलु विकास समितिका उद्यम विकास सहजकर्ता दशरथ जप्रेलले भने, ‘हामीहरुले धेरैलाई उद्यम विकासको तालिम दिएका छौं, तर गाउँघरमा हेर्दा यसको उपयोगिता देखिदैन ।’

कार्यक्रममा सहभागि जयपृथ्वी नगरपालिकाका प्रमुख विरेन्द्र खड्काले युवाहरुमा केहि गरौं भन्ने मानसिकता नभएका कारण परनिर्भर हुनुभपरेको बताए । उनले भने, ‘बेरोजगारलाई स्वरोजगार बनाउन घरेलु विकासका साथै स्थानीय तहबाट पनि धेरै तालिम सिपहरु सिकाएका छौं, तर त्यसको प्रतिफल न्युन छ ।’ जिल्लामा साना घरेलु लघुउद्यमका धेरै सम्भावना र अवसर भए पनि हालसम्म बझाङमा एउटा पनि लघुउद्यम व्यवसाय गरेको भेटिदैन । केहि व्यक्तिले व्यवसायीकरुपमा सिलाईकटाई कुखुरा, बंङगुरपालन र हाते होजियारी सञ्चालन गरेको भए पनि अन्य उद्योग व्यवसाय भने खासै गरेको देखिँदैन ।

स्वरोजगारको लागि जिल्लाका अधिकांस युवाहहरु देश बाहिर जाने र उद्यमशीलताका लागि भएको खर्चको उपलब्धी नभएकाले उद्यममा रुची भएका व्यक्तिहरुलाई स्रोतसाधन दिनुपर्ने देखिन्छ । नेपाल सरकारले युवाहरुलाई स्वदेशमै रोजगार सिर्जना गर्न विभिन्न बजेट तथा कार्यक्रम लागु गरे पनि तर कतिपय उद्यमी युवाहरुले भने सरकारी स्रोतसाधन आफुहरुले नपाएको गुनासो छन् । बझाङमा जडिबुटी प्रशोधन केन्द्र, हाते कागज उद्योगको साथै अन्य तरकारी, फलफुल खेती, खाद्यान्न बाली खेती तथा व्यवसायको राम्रो सम्भावना छ । हालसम्म बझाङमा लघु उद्योगबाट उत्पादन भएको सामाग्रीहरु विक्री वितरणका लागि बजारमा आउन सकेका छैनन् ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार १३:४१