सूचनाको शक्ति - The Power Of Information

        

अन्तरिक्षमा क्रिस्टिनाका ३२८ दिन

वासिङ्टन । झन्डै एक वर्ष लामो अन्तरिक्ष यात्रापछि बिहीबार कजाकिस्तानको उत्तरी क्षेत्रस्थित हिउँले सेताम्य जमिनमा पाइला टेक्दै गर्दा क्रिस्टिना कोच निकै हर्षित देखिन्थिन् । अन्तरिक्ष यान जमिनमा उत्रेलगत्तै सहयोगीले उनलाई कुर्सीमा राखे र गुरुत्वाकर्षण सन्तुलनका लागि ‘मेडिकल टेन्ट’तर्फ दौडाए ।

त्यसैक्रममा उनले भनिन्, ‘म निकै उत्साहित र निकै खुसी छु । मैले यो क्षणलाई अन्तरिक्ष नायकहरूका पाइला पछ्याइरहेका बेला भएको सम्मानका रूपमा लिएकी छु ।’ खासमा उनी खुसी हुनुको मुख्य कारण हो, उनका नाममा बनेको नयाँ कीर्तिमान । लामो समय अन्तरिक्षमा बिताउने महिलाका रूपमा पेगी हिविट्सनको कीर्तिमान (२८९ दिन) उनले तोडेकी छन् । सन् २०१९ मार्च १४ मा अन्तरिक्ष यात्रामा निस्केकी कोच ३२८ दिनपछि सोयुज यानमार्फत पृथ्वीमा ओर्लेकी हुन् ।

अमेरिकी अन्तरिक्ष संस्था (नासा) की ४१ वर्षीया कोचको टोलीमा अन्य दुई अन्तरिक्ष यात्री युरोपेली अन्तरिक्ष निकायका लुका पार्मिटानो र रसियाका अलेक्जान्डर स्केभोर्सोभ पनि थिए । सन् २०१९ को अक्टोबरमा कोच र नासाकै सहकर्मी जेसिका मेयरले अन्तरिक्ष केन्द्रबाहिर हिँडेका (स्पेसवाक गरेका) थिए । यो महिलाले अन्तरिक्षमै हिँडेको पहिलो रेकर्ड हो । कोचले पृथ्वीको कक्षलाई ५ हजार २४८ पटक घुमेकी थिइन्, जसका क्रममा उनले २२ करोड ३० लाख किलोमिटर यात्रा गरिन् ।

अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार उक्त दूरीबराबरको यात्रा गर्दा पृथ्वीबाट चन्द्रमा २९१ पटक ओहोरदोहोर गर्न सकिन्छ । हालसम्म चार जना अन्तरिक्ष यात्रीले एक वर्षभन्दा बढी अवधि अन्तरिक्षमा बिताएका छन् । रसियाका भलेरी पोल्याकोभले सबैभन्दा बढी ४३७.७ दिन अन्तरिक्षमा बिताएका थिए । त्यसैगरी, रुसकै सर्गेइ अब्देएभले ३७९.७ दिन, भ्लादिमिर टिटोभ र मुसा मननारोभले ३६५ दिन, मिखाइल कोर्नेइन्को र अमेरिकाका स्कट केलीले अन्तरिक्षमा ३४०.४ दिन बिताएका थिए ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार ०८:५४