सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुर नगर विकासको बदमासी, ‘घडेरी नदिएरै सर्वसाधारणको करोडौं रकम असुली’

बाँके । २०७४ असोज २३ गते कोहलपुर नगर विकास दोस्रो र तेस्रो चरणका २० वटा घडेरी बिक्री वितरण गर्ने भन्दै बोलपत्र आह्वानको सूचना जारी गर्यो । बोलपत्र आह्वानको माध्यमबाट छनोट भएका व्यक्तिहरुबाट घडेरीको रकम बुझ्यो । तर समितिले २० वटा घडेरीमध्ये ९ जना खरिदकर्तालाई मात्रै घडेरी उपलब्ध गरायो ।

त्यतिबेला बिक्री गरिएका २० वटा घडेरीमध्ये समितिले दुई वर्षसम्म पनि ११ जना खरिदकर्तालाई घडेरी उपलब्ध गराउन सकेको छैन । बिक्री गरेका विभिन्न प्लट नम्बरका १० वटा घडेरीमा अवैधरुपमा टहरा बनेकाले खरिदकर्ताले आफुले खरिद गरेको घडेरी पाउन सकेको भन्दै आन्दोलनमा उत्रिएपछि नगर विकास समितिको बद्मासी बाहिर आएको हो ।

समितिले आफ्नो नामको घडेरी बिक्री गर्न सूचना आह्वान नै गरेर रकम बुझे पनि दुई वर्षसम्म खरिदकर्तालाई घडेरी उपलब्ध गराएको छैन । लामो समयसम्म पनि नगर विकास समितिले करोडौं रकम लिएर घडेरी खाली गराउन नसकेपछि पीडितहरुले बुधबारदेखि समितिको कार्यालयमा अनिश्चितकालिन तालाबन्दीसमेत गरिदिएका छन् ।

समितिले घडेरीको रकम लिए पनि दुई वर्षसम्म अतिक्रमित घडेरीहरु खाली नगराएको भन्दै खरिदकर्ताले समितिको कार्यालयमा अनिश्चितकालिन तालाबन्दीसमेत गरिदिएका हुन् । घडेरी पीडितले आफूले खरिद गरेका घडेरीमा अवैधरुपमा कब्जा गरी बनेका घरटहरा तत्काल हटाउनुपर्ने, ट्रयाक खोली बाटो ग्राभेल गर्नुपर्ने र सबै घडेरीको चार किल्ला छुट्याउनुपर्ने भन्दै समितिसमक्ष तीन बुँदे मागसमेत राखेका छन् ।

पहिला पनि पटकपटक ज्ञापनपत्र बुझाउँदा पनि समितिले चासो नदेखाउँदा घडेरी पाउन नसकेको भन्दै तालाबन्दी गर्नुपरेको घडेरी पीडित काशीराम कोइरालाले बताए । समितिले आफूहरुको माग सम्बोधन नगरेर अन्याय गरेकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको उनको भनाई छ । ‘यो हाम्रो रहर होइन, बाध्यता हो,’ पीडित कोइरालाले भने, ‘बारम्बार हामीमाथि धोका र अन्याय भएकोले आन्दोलनको बाटो रोजेका हौँ ।’

अर्का घडेरी पीडित एकराज पाण्डेले व्यक्तिका जग्गामा नगरपालिकाले रजाई गरिरहेको बताए । ‘खुरुखुरु करोडौं रकम हाम्रो बुझ्ने, अरुका बाटो पीच गर्ने ?’ उनले आक्रोशित हुँदै भने, ‘नगर विकास समितिको नालायकीपनले हामीले दुख पाएका छौं ।’ तेश्रो चरणमा रहेका प्लट नम्बरहरु २४०, २४४, २४३, २६८, ३५५, ३४४, ३५१, ३५२, ३५३ र ३५४ खरिद गर्ने व्यक्तिहरुले अझैसम्म पनि जग्गा पाउन नसकेका हुन् ।

जग्गा खरिद गरेका कमल विसीले आफुहरुको करोडौंको लगानी बालुवामा पानी हालेजस्तै भएको बताए । ‘हामीले दुई वर्षअघि नै ऋण गरेर रकम बुझाएका हौंं । हामीले ऋण कसरी तिर्ने ? पहिलो चरणमा चेतावनीस्वरुप तालाबन्दी गरेका छौं,’ उनले भने, ‘माग सम्बोधन नभएसम्म चरणबद्धरुपमा आन्दोलन गर्छौं ।’ कोहलपुर नगर विकास समितिको इतिहासमा पहिलो पटक तालाबन्दी भएको हो ।

कार्यालयमा तालाबन्दी गरेका घडेरी धनीहरुले यसअघि नगर विकासका समितिका अध्यक्षसमेत रहेका कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत र सुरक्षा निकायका प्रमुखसँग आफ्नो समस्या समाधानको लागि माग गर्दै आए पनि चासो नदिएको पीडितहरुको गुनासो छ । आफूहरुलाई सधैं आश्वासन मात्रै दिने र कार्यान्वयन गर्न नसक्ने नेतृत्वको कार्यशैलीका कारण तालाबन्दी गर्नुपर्ने अवस्था सिर्जना भएको उनीहरुले बताए ।

समितिका अध्यक्ष रावतले समस्या समाधानका लागि सर्बदलीय बैठक बसाल्छु भन्दा पनि अटेरी गरेर तालाबन्दी गरिएको प्रतिक्रिया दिए । ‘मैले यसअघिको बैठकमा सर्वदलीय बैठकको निर्णय अनुसार समस्या समाधान गर्छु भनेको थिए,’ उनले भने, ‘अटेरी गरी तालाबन्दी गरेपछि म के गरुँ ?’ तालाबन्दी मात्रै समस्याको समाधान नभएको भन्दै उनले सर्बदलीय बैठकबाट आवश्यक निर्णय लिइने बताए ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार ०८:२७