बझाङ । बझाङका सबै नागरिकको घरमा चर्पी निर्माण भएपछि पूर्ण सरसफाई अभियान सार्थक बन्दैछ । अहिले गाउँमा रहेका सामुदायीक धारालाई विस्तार गरेर एक घर एक धारा निर्माण भइरहेका छन् । चर्पीको प्रयोग, साबुन पानीले हात धुने, स्वच्छ खानेपानी व्यवस्थापन, स्वच्छ खाना र घरआँगन सरसफाईको व्यवस्थापन भएपछि जिल्लाका बस्तीहरु पूर्ण सरसफाई घोषणा गरिएका छन् ।
नेपाल सरकारको दिगो विकास लक्ष्यअनुसार जिल्ला सभाको निर्णयले बझाङ जिल्लालाई आगामी दुई बर्षभित्र पूर्ण सरसफाई जिल्ला घोषणा गर्ने लक्ष्यअनुरुप सरसफाईमुक्त अभियान चलाएको हो । जिल्लाका स्थानीय तहहरुका साथै सरकारी तथा गैरसरकारी निकायहरुले सामुहिकरुपमा खुला दिसामुक्त अभियान सञ्चालन गरेजस्तै पूर्ण सरसफाई अभियानलाई सफल बनाउन लागिरहेका छन् ।
जिल्लाका ४० हजार घरधुरीमध्ये यसबर्ष पाँच हजार घरधुरीमा निजी धारा जडान गर्ने र ५० बढी गाउँलाई पूर्ण सरसफाई घोषणा गर्ने लक्ष्य रहेको जिल्ला समन्वय समिति अन्तरगत रहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सल्लाहकार विष्णु पोखरेलले बताए । तलकोट गाउँपालिकाको बडीगाउँ, छविसपाथिभेराको सुगाला, परिङ्गाल, गुरैलथुमका साथै थलारा गाउँपालिकाको सेराला र बुंगल नगरपालिकाका गाउँहरुमा एक घर एक धारा निर्माण गरी पूर्ण सरसफाईयुक्त गाउँ घोषणा गरिएको छ ।
जिल्लामा परम्परागत रुपमा रहेका सामाजिक कुरितीहरु बालविवाह, बहुविबाह, छाउपढी र अन्य सामाजिक विभेदहरुलाई हटाउन पनि विभिन्न सचेतनात्मक कार्यक्रमहरु सञ्चालन भएका छन् । छविसपाथिभेरा गाउँपालिका–१ सुगालाका रामभक्त गिरिले भने, ‘पहिले गाउँमा झण्डै २५ परिवारको लागि एउटा धारामात्रै निर्माण गरिएका थिए, अहिले स्थानीय सरकार साथै ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा एक घर एक धारा निर्माण भएका छन् ।’
अहिले च्याङ्ग, ज्युठ्यान निर्माण चर्पीको मर्मत र व्यवस्थापनसहित घरआँगन सरसफाई र करेसाबारी निर्माण भएर गाउँटोल सफा र स्वच्छ भएका छन् । परिङ्गालजस्तै तलकोटको बडि गाउँमा पनि १५० परिवारका लागि प्रत्येक घरमा धारा जडान भएपछि गाउँलेहरु पनि खुशी छन् । गाउँघरमा पूर्ण सरसफाई टोल बनाउन स्थानीय तहका साथै संघसंस्थाहरु, जनप्रतिनिधि, समाजसेवी, महिला समुह, बालक्लव र आमा समुहहरु सक्रिय भएका छन् ।
सबैको सामुहिक अभियानले जिल्लालाई खुला दिसामुक्त गर्न सफल भएको स्मरण गर्दै जिल्ला समन्वय समिति बझाङ्गका संयोजक खडकबहादुर खड्काले भने, ‘अब सबैको साझा प्रयासबाट जिल्लालाई पूर्ण सरसफाईयुक्त र सामाजिक कुरिती र विभेद हटाउन लाग्नुपर्छ ।’ मानवीय विकासभन्दा पूर्वाधार विकासलाई बढि जोड दिने प्रचलनले समाज पछाडि परेको भन्दै अब सामाजिक र मानवीय विकासमा जोड दिनुपर्ने बताए ।
जिल्लामा कुप्रथाका रुपमा रहेको छाउपढी प्रथालाई सुधार गर्नका लागि सचेतना फैलाउने काम भइरहेको उनले बताए । गाउँको विकास भएमात्र राष्ट्रको विकास हुने भएकाले गाउँमा रहेका सामाजिक कुरिती र विभेद हटाएर नागरिकलाई सचेतनासँगै स्वरोजगार बनाउन सके समाज विकसित हुने जिसस संयोजक खड्काले बताए । स्थानीय नागरिकले पूर्ण सरसफाईका लागि आवश्यक सूचकहरु पुरा गरेपछि गाउँलाई पूर्ण सरसफाईयुक्त घोषणाका लागि बाजागाजासहित सचेतनामूलक कार्यक्रम भइरहेका छन् ।
सत्यराज सिंह ।