सूचनाको शक्ति - The Power Of Information

        

बलात्कारपछि हत्यामा संलग्नलाई जन्मकैदको फैसला

कैलाली । जिल्ला अदालत कैलालीले सामुहिक वलात्कारपछि हत्या प्रकरणमा दोषी देखिएकाहरुलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले बुधबार यस्तो फैसला सुनाएको हो । कैलाली गौरीगङ्गा नगरपालिका–११ की २१ वर्षीया माया विकको बलात्कारपछि हत्या गरिएको थियो ।

२०७५ असार १२ मा घरबाट कार्यालय हिँडेकी विकको शव असार १५ मा गौरीगङ्गा नगरपालिका–११ कै चपथली सामुदायिक वनमा भेटिएको थियो । पीडित पक्षको उजुरीका आधारमा बलात्कारमा संलग्न रहेको भन्दै प्रहरीले गौरीगंगा–११ का गणेश बडूवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र दीपेन्द्र बोगटीलाई पक्राउ गरेको थियो । पाँचै जनाविरुद्ध कर्तव्य ज्यान, जबरजस्ती करणी र अपहरण अन्तरगत मुद्दा चलाइएको थियो ।

प्रतिवादीमध्यकै भुवन खाती र सुरज चौधरीलाई ज्यानसम्बन्धी महलको १३ वमोजिम सजाय हुने र जर्वजस्ती करणीमा पनि सजाय हुने अदालतको फैसला छ । यसो हुँदा उनीहरुले जन्मकैदको सजाय भोग्नुपर्ने हुन्छ । त्यस्तै दुई जना अरु प्रतिवादी गणेश बडुवाल र मनोज बोगटीका हकमा ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम कारवाही हुनेछ ।

अर्का प्रतिवादी टपेन्द्र वोगटीलाई ज्यानसम्बन्धी महलको १७ (२) अनुसार ५ वर्ष कैदको फैसला भएको अदालतका सुचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए । अदालतको फैसलापछि पीडित परिवारले ढिलै भएपनि न्यया पाएको प्रतिकृया दिएका छन् । मायाका ठुलोबुबा खड्ग विकले न्याय मरेको रहेनछ भन्ने अनुभुति भएको बताए ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार १३:५९