काठमाडौं । जस्तो नाम, उस्तै सफलता । विजयकुमार गच्छदार थारु समुदायका एकमात्र त्यस्ता नेता हुन्, जसले छैठौं पटक सांसद भएर विजयीको माला पहिरे । उनले दाबी पनि गरेका छन् कि अबको ५० वर्षसम्म यो इतिहास कुनै थारुले दोहोर्याउन सक्ने छैनन् । तर, अब इतिहास बदलिएको छ ।
सदाबहार विजेताको उनको छविमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा दायर गरेको मुद्दाले कालो धब्बा लगाइ दिएको छ । यद्यपी अहिलेलाई यो आरोपमात्र लागेको हो । विशेषबाट उनले सफाइ पनि पाउन सक्छन्, जेल पनि जान सक्छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरको सडक चौडा बनाउने निर्णय गर्दा मन्त्रिपरिषदले सडक बनाउँदा मासिएको जग्गा सट्टापट्टा गर्ने निर्णयसमेत गरेको थियो ।
यो प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदारमाथि अख्तियारले मुद्दा चलाएको छ । अख्तियारले मन्त्रिपरिषदको नीतिगत निर्णय आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल तथा मुख्यसचिव लीलामणि पौडेलविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय लियो । नेपाली राजनीतिमा चतुर नेताको रुपमा चिनिने गच्छदारको जन्म २०१० साल माघ १९ गते सुनसरी–८ पचरामा भएको हो ।
बुबा शिरु गच्छदार र आमा खुतलीदेवीथारुको कोखबाट जन्मेका गच्छदारका एक छोरी र दुई छोरा छन् । गच्छदारकी आमाको केही समय अगाडि मात्रै निधन भएको थियो । इतिहासमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका गच्छदारले २०२६ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्राको सुरुवात गरेका थिए । कांग्रेसका नेताका रुपमा गच्छदारले संसदमा २०४८ सालमा विजयीको पहिलो खाता खोले ।
दलबदल गर्दै आएपनि उनले लगातार चुनाव जित्दै आएका छन् । २०७४ सालमा भएको संसदीय निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ मा तत्कालीन एमालेकी भगवती चौधरीलाई पराजित गर्दै उनले आफ्नो अपराजित यात्रा अघि बढाएका थिए । गच्छदारले केवल ३२१ मतले भगवतीसँग पराजित भए । गच्छदारले ३८ हजार ९७२ मत ल्याएर विजयी हुँदा भगवतीले ३८ हजार ६५१ मत प्राप्त गरेकी थिइन् ।
यसअघि उनले दोस्रो संविधान सभा निर्वाचनमा पनि यिनै चौधरीलाई पराजित गरेका थिए । त्यो बेला उनी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष थिए । मंसिर १० र २१ गते निर्धारण गरिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि तत्कालीन एमाले र माओवादी केन्द्रले कम्युनिष्ट गठबन्धन बनाएपछि उनले फोरम (लोकतान्त्रिक)लाई कांग्रेसमा विलय गराएका थिए ।
२०७४ असोज ३० गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पार्टी एकीकरण समारोहमा गच्छदारले कम्युनिष्टहरुबाट मुलुकमा जनवादी संविधान ल्याउने प्रयास भएकाले लोकतन्त्रको रक्षा गर्न कांग्रेससँग पार्टी एकीकरण गर्नुपरेको प्रतिक्रिया दिएका थिए । नेता गच्छदारले २०४८ सालको आमनिर्वाचन, २०५१ को मध्यावधी निर्वाचन र २०५६ को आमनिर्वाचन कांग्रेसबाट जितेका थिए ।
उनले २०६४ को पहिलो संविधानसभा निर्वाचन र २०७० को दोस्रो संविधानसभा निर्वाचन नेपाल लोकतान्त्रिक फोरमबाट आफ्नो अपराजित यात्रा यथावत राखेका थिए । गच्छदार सधैं सत्ताको केन्द्रविन्दुमा रहे । २०४८ पछि गिरिजाप्रसाद कोइरालाको निकट भई उनले प्रभावशाली मन्त्रीका रूपमा छवि स्थापित गरेका थिए । कोइरालाको अवसानपछि पनि उनी कहिल्यै सत्ताबाट बाहिरिएका थिएनन् । पहिलो संविधानसभा निर्वाचन भन्दा केही समयअघि आफ्ना केही मान्छेले टिकट नपाएको विरोधमा गच्छदारले तत्कालीन पार्टी सभापति कोइरालासँग विद्रोह गरेर कांग्रेस छाडेका थिए ।
तर कांग्रेससँगको पार्टी एकीकरणमा उनले मधेसी जनताको हक–अधिकार स्थापितगर्न पार्टी परित्याग गरेको बताएका थिए । पहिलो संविधानसभा निर्वाचन जितेका गच्छदारले माओवादी नेतृत्वको सरकार सात महिनामै ढलेपछि फोरमलाई फुटाएर आफ्नै नेतृत्वमा फोरम लोकतान्त्रिक गठन गरेका थिए । त्यसपछि फोरम लोकतान्त्रिकका अध्यक्ष बनेका गच्छदार तत्कालीन एमाले नेता माधव कुमार नेपालको नेतृत्व गठन भएको सरकारमा सहभागी बनेका थिए ।
१३ पटक मन्त्री
गच्छदार उपप्रधानमन्त्रीका रूपमा ५ र मन्त्रीका रूपमा १३ पटक प्रभावशाली र ‘आकर्षक’ मन्त्रालय लिएर सत्ताको केन्द्रमा छाइरहे । राजनीतिक दलका नेताहरू उनलाई मन्त्रीमा लोकसेवा नै पास गरेको भन्दै व्यंग्यसमेत गर्छन् । २०७४ मा सम्पन्न निर्वाचनमा उनले मतदातासँग आगामी दिनमा आफू प्रधानमन्त्री हुने भन्दै मत मागेका थिए । यसअघि २०७० को संविधानसभा निर्वाचनमा पनि ‘थारूको छोरोलाई प्रधानमन्त्री बनाउनु होस्’ भन्दै मत मागेका थिए ।
गच्छदार ०४८ देखि नै गिरिजाप्रसाद कोइरालाको निकट रहेर सत्तामा हावी बन्न पुगेका थिए । त्यतिबेला कोइरालाको किचेन क्याबिनेटका रूपमा एकेजीबी (अर्जुननरसिंह केसी, खुमबहादुर खडका, गोविन्दराज जोशी र विजय गच्छदार)का नामले उनी चर्चामा थिए । प्रधानमन्त्री बन्ने उच्च लालसमा रहेका उनी प्रधानमन्त्री नबन्दै अख्तियारले गच्छदारको राजनीतिक जीवनमा कालो धब्बा लगाइ दिएको छ ।
सत्यपाटी ।