एजेन्सी । वार्षिक १० लाख पाउन्डसम्म कमाइ गर्ने एक हाइप्रोफाइल ब्याङ्करलाई अफिसको क्यान्टिनबाट खानेकुरा चोरेको पाइएपछि निलम्बित गरिएको छ । ३१ वर्षीय पारस साहलाई इन्भेस्टमेन्ट बैंक सिटीग्रुपको लन्डनस्थित रहेको हेडक्वाटरको क्यान्टिनबाट स्यान्डविच चोरेको आरोपमा जागिरबाट निकालिएको बताइएको छ ।
उनलाई केही समय अघिमात्र सिटीग्रुपमा युरोप, अफ्रिका र मध्य पूर्वका वरिष्ठ बन्ड ट्रेडरका रुपमा बढुवा गरिएको थियो । तर नयाँ पदको बोनस पाउनु अगावै उनले यस महिनादेखि काममा आउन बन्द गरिसकेको सञ्चार एजेन्सी रोयटर्सले जनाएको छ । यस विषयमा पीए न्युज एजेन्सी उनीसँग सम्पर्कमा आउन नसकेको र सिटीग्रुपले पनि कुनै प्रतिक्रिया नदिने बताएको हो ।
उनले अर्थशास्त्र मेजर लिएर युनिभर्सिटी अफ बाथमा पढाइ सिध्याएका थिए र उनको पारिश्रमिक वार्षिक १० लाख पाउन्डभन्दा बढी हुने गरेको बताइएको छ । उनको फेसबुक पोस्टबाट पनि उनी बिदा मनाउन र भ्रमणका लागि विश्वभरका प्रख्यात गन्तव्यहरुमा लक्जरीपूर्ण यात्रा गर्ने गरेको देखिएको छ । व्यक्तिगत गल्तीका कारण कामबाट निकालिने उनी पहिलो ब्याङ्कर भएको पनि बताइएको छ ।
यसअघि पनि जापानको मिजुहो बैंकमा एक लन्डन ब्याङ्करलाई सहकर्मीको साइकलको ५ पाउन्ड पर्ने पूर्जा चोरी गर्दैगर्दा पक्राउ परेपछि निलम्बित गरिएको थियो । त्यसैगरी विश्वको सबैभन्दा ठूलो सम्पति व्यवस्थापन कम्पनी ‘ब्ल्याकरक एसेट’ का व्यवस्थापन निर्देषक जोनथन बरोजलाई ट्रेन यात्राका क्रममा कहिल्यै भाँडा नतिर्ने गरेको पाइएपछि २०१४ मा उच्च पदमा नियुक्त गर्नबाट निषेध गरिएको थियो र अनुसन्धानपछि जरिवाना तिर्न भनिएको हो ।
सत्यपाटी ।