सूचनाको शक्ति - The Power Of Information

        

हात्तीपाइले रोगको औषधि सेवन नगरे सरकारी सुविधाबाट बञ्चित !

हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्दै जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तव । फाइल तस्वीर

हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्दै जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तव । फाइल तस्वीर

बाँके । जिल्ला समन्वय समिति बाँकेले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन नगर्ने व्यक्तिलाई स्थानीय तहबाट प्रदान हुने सेवा, सुविधा नदिने निर्णय गरेको छ । बाँकेमा हात्तीपाइले रोगविरुद्ध खुवाइने औषधि सेवन गर्न सर्वसाधारणले आनाकानी गरेपछि जिल्ला समन्वय समितिले यस्तो निर्णग गरेको हो ।

जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन नगर्नेलाई स्थानीय तहबाट प्रदान हुने सेवासुविधा नदिने निर्णय गरेको बताए । ‘पटकपटक आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर कठोर निर्णय गर्नुप¥यो,’ उनले भने । शहरमा बसोबास गर्ने शिक्षित समुदाय नै औषधि सेवन गर्न नमान्ने गरेकाले जिससले कडा निर्णय गर्नुपरेको संयोजक श्रीवास्तवले बताए

शिक्षित व्यक्तिले नै औषधि सेवन गर्न नमान्ने भएपछि बाँकेमा हात्तीपाइले रोग निवारण अभियान अपेक्षाकृतरुपमा सफल हुन सकेको छैन । बाँकेको ग्रामीण क्षेत्रभन्दा नेपालगन्ज उपमहानगरभित्र औषधि सेवन गर्नेको संख्या न्यून छ । ‘सामान्य नागरिकमात्रै होइन, शिक्षित नागरिकले नै औषधि खान मान्दैनन्,’ जिल्ला स्वास्थ्य कार्यालय बाँकेले स्वास्थ्य अधिकृत अंगतबहादुर शाहीले भने, ‘जसका कारण अभियान प्रभावित भइरहेको छ ।’

जिल्लाका कोहलपुर र नेपालगन्ज उपमहानगरपालिकामा बढी हात्तीपाइले रोगको उच्च जोखिम भएको स्वास्थ्य अधिकृत शाहीले बताए । नवौँ पटक औषधि खुवाउँदा पनि नियन्त्रण नभएपछि हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन अभियान अन्तरगत बाँकेमा दशौँ पटक औषधि आगामी शनिबार खुवाइँदैछ । उनले बाँकेका चार लाख सर्वसाधारणलाई औषधि खुवाइने लक्ष्य रहेको बताए ।

नेपालगन्ज उपमहानगरपालिकामा मेयर डा.धवलसम्शेर राणाले शहरमा बस्ने शिक्षितहरुबाटै औषधि सेवन नभएका रोग नियन्त्रणमा चुनौती देखिएपछि अभियान सफल बनाउन स्थानीय तह कडाईका साथ लागिपरेको बताए । हात्तीपाइले रोगको उच्च जोखिममा रहेको नेपालगन्जमा यसको न्यूनीकरणका लागि आमऔषधि सेवन अभियान दशौं चरणसम्म पुग्दा पनि शिक्षितले नै औषधि खान नमान्दा समस्या भएको छ ।

यसअघि मेयर डा.राणाले औषधि खुवाउने दर बढाउने वडालाई पुरस्कृत गर्दै बजेट बढाउने घोषणा पनि गरेका छन् । हात्तीपाइले रोग निर्मुल हुने भइसक्नुपर्ने बाँकेमा यसको अवस्था झन् डरलाग्दोरुपमा देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन दुर्गा गौतमले बताइन् । उनले भनिन्, ‘ग्रामीण क्षेत्रका प्राय सबैले औषधि सेवन गरे पनि शहरी क्षेत्रमा शिक्षित व्यक्तिले औषधि खान नमान्दा समस्या यथावत छ ।’

शिक्षित समुदाय नै आमऔषधि सेवन गर्न नमान्ने भएपछि सरकारले हात्तीपाइले रोग निवारणमा अपेक्षाकृत सफलता हासिल गर्न सकेको छैन । प्रत्येक व्यक्तिसम्म औषधि नपुग्नु र बिभिन्न डरत्रासका कारण सवैले औषधी प्रयोग नगर्नुले उपलब्धी हासिल गर्न नसकिएको स्वास्थ्यकर्मीहरुको भनाई छ । हात्तीपाइले निवारणका लागि सञ्चालित कार्यक्रम निरन्तर सञ्चालन भइरहे पनि त्यसअनुरुप सन्तोषजनक भएको भने देखिदैन ।

विशेषगरि हात्तीपाइले रोगको औषधिको प्रयोग सम्बन्धी फैलिएको गलत सूचना प्रमुख चुनौती भएको स्वास्थ्य अधिकृत शाहीले बताए । यो औषधि खाँदा विरामी हुने वाकवाकी लाग्ने भन्ने गलत सूचना फैलिएका कारण मानिसहरुले औषधि खान नमानेको उनको भनाई छ । विगतमा औषधि सेवनले केही व्यक्ति बिरामी र केहीको मृत्यु भएको हल्लाका कारण औषधि सेवन गर्नेहरुमा फैलिएको त्रास अहिलेसम्म कायमै छ ।

२०६७ सालदेखि बाँकेमा हात्तीपाइले रोगविरुद्धको अभियान चलिरहेको छ । सुरुवातमा बाँकेमा ९१ प्रतिशतले औषधि खाएको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांक छ । तर सो क्रममा केही व्यक्तिको मृत्यु भएको हल्ला फैलिएपछि त्यसपछिका अभियानमा औषधि सेवन गर्नेको संख्या घट्दै गएको छ । जसका कारण सरकारी लक्ष्य पुरा हुन सकिरहेको छैन । सोचे अनुसारको नतिजा नआएपछि बाँकेमा लगातार हात्तीपाइले रोगविरुद्धको अभियान चलिरहेको छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार ०९:०४