बझाङ । जयपृथ्वी बहुमुखी क्याम्पस भोपुरले शुल्क बढी लिएको भन्दै शुल्क घटाउन विद्यार्थीहरुले क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । सुदूरपश्चिम विश्वविध्यालयको मातहत रहेको जयपृथ्वी बहुमुखी क्याम्पसमा अन्य जिल्लाका क्याम्पसहरुभन्दा शुल्क दोब्बरले बढी रहेको विद्यार्थीहरुको गुनासो छ ।
तेस्रो सेमस्टरमा अध्यनरत विद्यार्थी नरेश रोकायाले सुदूरपश्चिम विश्वविद्यालयको मापदण्डभन्दा शुल्क बढी लिएको बताए । उनले भने, ‘हाम्रो न त कुनै जागिर छ ,न त कुनै व्यापार छ । यति महंगो शुल्क तिरेर कसरी पढ्ने ? हामीले त भाईबहिनीहरुलाई पनि पढाउनु छ । मापदण्ड अनुसार शुल्क लिनुपर्छ ।’
सोही कक्षामा अध्यनरत दिपेन्द्र खड्काले पढ्नै नसकिने गरि शु्ल्क लगाएको गुनासो गरे । सरकारी क्याम्पस भनेर हल्ला फैलाउँदै शुल्क नीजि क्याम्पसको भन्दा बढी लिएको उनले बताए । त्रिभुवन विश्वविद्यालय अन्तरगत हुँदा १० हजार ५०० शुल्क रहेकोमा हाल बढाएर १५ हजार ६०० रुपैयाँ लिएको र अन्य क्याम्पसहरुमा ६ हजार ८०० देखि ९ हजारसम्म रहेको खड्काले बताए ।
चर्को शुल्क नघटाउदासम्म विद्यार्थीले भर्ना र परिक्षा फारम नभर्ने भन्दै क्याम्पसमा तालाबन्दी गर्नेसमेत चेतावनी दिएका छन् । क्याम्पस प्राध्यापक महोनराज उपाध्यायले १० जना शिक्षकको कोटा सरकारले नै निर्धारण गरेर तलब खुवाएको र ८ जना नीजि शिक्षकलाई उक्त शुल्कबाट उठेको रकमले तलब खुवाउनु पर्ने भएकाले शुल्क केही महंगो भएको स्वीकार गरे ।
उनले सुदूरपश्चिम विश्वविद्यालयको प्राध्यापक भेलामा शुल्क निर्धारण गरेभन्दा कम नलिन र सके बढी नै शुल्क लिन दिइएको सुझाव अनुसार नै शुल्क लिइएको बताए । उनले यस विषयमा विश्वविद्यालयको माथिल्लो निकायसँग छलफल गर्ने बताए ।
सत्यराज सिंह ।