सूचनाको शक्ति - The Power Of Information

        

प्रकृतिसँगै ठगिए बाँके र बर्दियाका किसान

बाँके । बाँके र बर्दियाका किसानलाई यसबर्ष प्रकृतिले पनि ठग्यो । फौजी किराले धानबाली सखाप पारेपछि ठगिएका किसान हिउँदे बालीमा पनि उसैगरी ठगिएका छन् । हिउँदे झरीले बाँके र बर्दियाका किसानलाई नराम्ररी पिरोलेको छ । हिउँदे झरीले गहुँ तथा नगदेबाली नोक्सान भएको किसानहरु बताउँछन् ।

पहिलोपल्ट पानी पर्दा किसान खुसी भएका किसान त्यसपछिको लगातारको झरीका कारण हिउँदे बालीमा क्षति पुर्याएपछि पीडित बनेको बाँसगढी नगरपालिका मोतीपुरका किसान आशाराम चौधरीले बताए । लगातारको झरीले खेतमा लगाइएको गहुँसँगै आलु, मुला गोलभेडा, मसुरो, चना, केराउ र तोरी बालीमा नोक्सानी पु¥याएको उनले बताए ।

खेतमा लगाइएको गहुँमा पनि क्षति पुगेको बताउँदै आशारामले भने, ‘पहिलो पटक पानी पर्दा बाली फस्टाएको थियो । त्यसपछिको लगातारको झरीले पानी जमेर बोट पहेँलो भएर मरेका छन् ।’ बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरका किसान गेनालाल मुराउले हिउँदे झरीका कारण १५ विगाहामा लगाएको गोलभेडा ८० प्रतिशत नोक्सान भएको बताए ।

‘विगतका वर्षमा गोलभेडा बेचेर रु.सात लाखसम्म आम्दानी हुन्थ्यो,’ उनले भने, ‘यस वर्ष हिउँदे झरी र शीतलहरका कारण नोक्सानी व्यर्होनुपर्यो ।’ उनीजस्तै बाँकेका धेरै कृषक झरीले खेतीबालीमा नोक्सानी भएपछि चिन्तित बनेका छन् । हिउँदे झरीका कारण बाँके र बर्दियाका किसानले लगाएको हिउँदे बालीलाई नोक्सान पारेपछि किसानलाई चिन्ता थपिएको छ ।

कोशेबाली अनुसंधान कार्यक्रम खजुरा बाँकेका अनुसार हिउदमा परेको पानीका कारण कोशेबालीको उत्पादनमा ४० प्रतिशत ह्रास आउने गरी नोक्सान पुर्याएको जनाएको छ । कोशेबाली अनुसंन्धान केन्द्र खजुराका बरिष्ठ प्राविधिक अधिकृत रविन्द्रप्रसाद शाहले हिउँदे झरीले मसुरो, राजमा र चनाजस्ता कोशेबालीलाई नोक्सान पुर्याएको बताए ।

उनका अनुसार झरीका कारण गहिरो जमिनको सबै खेती नष्ट भएको छ भने केही उँचो जमिनमा ६० प्रतिशत बचेको हुनसक्ने आँकलन गरिएको छ । उनले भने, ‘हिउँदे झरीले बाँके र बर्दियामा कोशेबाली उत्पादनमा ठूलो ह्रास आउने देखिएको छ ।’ झरीले अनुसन्धानका लागि तयार पारिएका विभिन्न पुस्ताको बीउ खेतीसमेत नोक्सान भएको उनले बताए ।

उनका अनुसार बाँके र बर्दियामा प्रतिहेक्टर सामान्य अवस्थामा १ दशमलव २ टन उत्पादन दिने गरेकोमा हिउँदे झरीका कारण प्रतिहेक्टर अधिकतम ६०० किलोभन्दा बढी उत्पादन हुन नसक्ने बताए । प्रदेश ५ मा मसुरो ७६, खेसरी ६, अरहर ५, चना ४, मास २, भटमास २ र राजमा तथा अन्य ५ प्रतिशत खेती हुने गरेको छ ।

बाँके र बर्दियामा एक हजार ६३० हेक्टर धान फौजी कीराले सखाप परेको थियो । जसबाट रु.पाँच ८१ करोड ४१ लाख बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र बाँकेका बाली विकास अधिकृत शकिल अहमदले जानकारी दिए । साथै छिटो पाकेर धेरै फल्ने आशमा बाँकेमा करिब ७० हेक्टर र बर्दियामा ३५० हेक्टरमा रोपिएको गरिमा जातको धानमा लागेको थिएन ।

यसैबीच जल तथा मौशम विज्ञान कार्यालय फिल्ड अफिस नेपालगन्ज राँझाका अनुसार पटक पटक गरेर गत मङ्सिर २७ गतेदेखि माघको पहिलो सातासम्म १६६ दशमलभ ५ मिलिमिटर बर्षा भएको छ । कार्यालय प्रमुख पलबहादुर विकले मङ्सिर २८ गते सबैभन्दा बढी ९९ दशमलव ४ मिलिमिटर पानी परेको र त्यसयता १० दिन पानी परेको जानकारी दिए ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार १४:१४