सूचनाको शक्ति - The Power Of Information

        

न्याय माग्दै गंगामाया राष्ट्रसंघ मुख्यालयमा

काठमाडौं । अनशनरत गंगामाया अधिकारी सरकारले न्याय नदिएको भन्दै न्यायका लागि नेपालस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय पुगेकी छिन् । मंगलबार नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि भ्यालेरी जुलियान्डसँग भेट गर्दै सके न्याय दिलाउन र नसके आफूले भोगेको अन्यायलाई अन्तर्राष्ट्रियकरण गरिदिन आग्रह गरेकी हुन् ।

भ्यालरीसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै गंगामाया अधिकारीले सरकारले आफूलाई न्याय नदिएकाले संयुक्त राष्ट्रसंघसँग न्यायको अपिल गर्न बाध्य भएको बताइन् । उनले न्याय नपाउँदासम्म लडिरहने बताइन् । गंगामायाले झण्डै नौं वर्षसम्म पनि आफूलाई सरकारले न्यायका नदिएकामा असन्तुष्टि जनाएकी छन् ।

संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि जुलियान्ड भ्यालेरीले नेपाल सरकारले संक्रमणकालीन न्याय प्रक्रिया परिमार्जन गरी पीडितलाई न्याय दिनुपर्ने बताएका छन् । ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा मंगलबार न्यायका लागि लडिरहेकी गंगामाया अधिकारीसँग भेट गर्दै भ्यालेरीले सबैलाई न्याय दिलाउन संक्रमणकालीन न्याय प्रक्रियामा परिमार्जन गर्नु आवश्यक रहेको बताए ।

उनले नेपालमा संक्रमणकालीन न्यायको प्रक्रिया विश्वसनीय ढंगले अगाडि बढ्न नसकेको गुनासो गरे । संक्रमणकालीन न्यायको विषय संयुक्त राष्ट्रसंघको विश्वव्यापी आवधिक समीक्षामा पनि उठ्ने भएकाले परिमार्जन गरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए । संयुक्त राष्ट्र संघीय महासन्धिमा हस्ताक्षर गरेको नाताले पनि नेपालले महासन्धिमा भएका अधिकारहरूको पालना गर्नुपर्ने उनको भनाइ थियो ।

महासन्धिमा हस्ताक्षर गरेका राष्ट्रले महासन्धिमा उल्लेखित विषय पालना गरेर नगरेकोमा राष्ट्रसंघको गम्भीर चासो रहेको उनले बताए । उनले संक्रमणकालीन न्यायको प्रक्रिया विश्वसनीय ढंगले अगाडि बढाइ पीडितलाई न्याय दिन र मानव अधिकारको उल्लंघन हुन नदिने तर्फ सरकार संवेदनशील रहेकामा आफू विश्वस्त रहेको बताए ।

अधिकारीले तत्कालीन सशस्त्र द्वन्द्वकालमा २०६१ मा हत्या गरिएका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै आएको बताइन् । गंगामायाका पति नन्दप्रसादको आमरण अनशनकै क्रममा २०७१ असोजमा निधन भएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार १०:०४