सूचनाको शक्ति - The Power Of Information

        

त्रिभुवन चौकमा ‘श्रमको खोजी’

बाँके । नेपालगन्जको त्रिभुवन चौक, सडकभरी सयौंको संख्यामा मान्छेको भीड । एकाविहानै भीडमा हराउँछ त्रिभुवन चोक । पहिलो पटक त्यो भीड देख्नेहरु अचम्ममा पर्छन् । न यहाँ कुनै सभा सम्मेलन, न त कुनै आन्दोलन नै हुन्छ । यहाँ त केवल कामको खोजीमा जम्मा हुनेको भीड हुन्छ । त्यही भीडभित्र श्रमका बारेमा सोधीखोजी चलिरहेको हुन्छ ।

चोकको चारैतिर भीडभाड हुन्छ । विभिन्न ठाउँबाट कामको खोजीमा जम्मा हुने मजदुरहरुको भीडमा ठेकेदारहरुसँग श्रमका बारेमा मोलमोलाई भइरहेका दृष्य देखिन्छन् । एकाविहानैदेखि खाना बोकेर पुगेका मजदूरहरु आ–आफ्नै धुनमा ठेकेदारसँग मोलमोलाई गरिरहेका हुन्छन् । काम खोज्दै त्रिभुवन चोक पुग्ने मजदुरहरु हरेक दिन फरकफरक ठेकेदारसँग काम गर्न जाने गर्छन् ।

धेरै पहिलेदेखि नेपालगन्जको त्रिभुवन चोक बिभिन्न ब्यक्तिहरुका लागि कामको खोजी गर्ने र काम गर्न जाने माध्यम बन्दै आएको छ । त्रिभुवन चौकको सडकैभरी बिहानैदेखि कामदारहरुको भीड लागेको हुन्छ । सडकमा आवतजावतसम्म गर्न नसकिने गरी जताततै मजदुरहरु कामको आशमा उभिएको देखिन्छन् । कतिपय मजदुरहरु पसलको सटरमा आड लागेर बसेको देखिन्छ ।

यहाँ धेरै वर्षदेखि यो प्रक्रिया चल्दै आएको भएपनि यसको व्यवस्थापनका लागि न त स्थानीय सरकारको ध्यान गएको पाइन्छ, न त अन्य कुनै निकायले व्यवस्थापनमा पहल गरेको पाइन्छ । नेपालगन्जको श्रम बजारका रुपमा प्रयोग हुँदै आएको त्रिभुवन चोकमा मजदुहरुका लागि व्यवस्थित ठाउँ बनाउन आवश्यक भएको जो कोहीले महसुस गर्न सक्छन् ।

लामो समयदेखि काम खोज्ने माध्यम बनेको भएपनि मजदुरहरुलाई बस्ने व्यवस्था नहुँदा सडक र सडक पेटीमा उभिनुको बिकल्प नभएको मजदुरहरु बताउँछन् । हरेक दिन सयौंको संख्यामा जम्मा हुने मजदुरहरुलाई बस्ने ठाउँको व्यवस्थापन र शौचालयको व्यवस्थापनमा स्थानीय सरकारको ध्यान जान नसकेको उनीहरुको गुनासो छ ।

बिहान ६ वजेदखि १० बजेसम्म काम पाउने आशामा बस्ने मजदुरहरुका लागि शौच गर्ने शौचालय र बस्नका लागि उचित ठाउँको व्यवस्थापन नहुँदा त्रिभुवन चोक विहान अस्तव्यस्त हुन्छ । केही ब्यक्ति काम गर्ने मान्छेको खोजीमा गएपछि त्यो ब्यक्तिलाई घेर्न भीडनै लाग्छ । बस्ने ठाउँको उचित व्यवस्थापन र काम नपाउने समस्याले मजदुरहरुलाई सधैं पिरलो हुन्छ ।

बिहान पसलहरु नखुल्ने बेलासम्म सडकको पेटी र सटरको आडको प्रयोग गरिरहेका मजदुरहरु पसल खुलेपछि भाग्नुपर्छ । बर्दिया माछागढ घर भइ १५ बर्षदेखि कामदारको रुपमा नेपालगन्जमा बस्दै आएका प्रकाश चौधरीले पहिले पहिले सहजरुपमा काम मिल्ने गरेको भए पनि अहिले कामनै पाउन मुस्किल हुने गरेको बताए ।

बर्षौदेखि कामको लागि त्रिभुवन चोकमा धाउन बाध्य मजदुरहरु हरेक दिन फरक खाले ठेकेदार भेट्छन् । जस्तोसुकै काम पाए पनि गर्नैपर्ने भएकाले हरेक दिन काम गरेर गरेरै फर्किनुपर्ने कामदारहरुको बाध्यता नै हुन्छ । यहाँ हरेक दिन मजदुरहरु भेला हुने चलन बर्षौदेखिको कायम छ । ‘गाँउमा काम पाइँदैन, यहाँ आउँदा खाली बस्नुपर्दैन,’ मजदुर सुकीलाल थारु भन्छन् ।

राप्तीसोनारी–६ फत्तेपुरका सुकीलाल ठेकेदारको पर्खाइँमा रहेका त्रिभुवन चोकबाट ठेकेदारले लैजाने बेला बढी भन्ने तर ज्याला दिने बेलामा कम दिने गरेको गुनासो गर्छन् । खाना बोकेर एकाविहानै त्रिभुवन चोक पुग्ने गरेका बर्दिया बढैयाताल गाउँपालिकाका राजाराम थारु पाए काम गर्ने नत्र त्यसै बस्नुपर्ने बाध्यता रहेको सुनाउँछन् ।

‘कति दिन त काम नै पाइँदैन, त्यसै घर फर्किनुपर्छ,’ राजारामले भने, ‘कहिले काम नै पाइँदैन, कहिले ठेकेदारसँग ज्यालामा कुरा मिल्दैन । कम नपाएको दिन घरखर्च चलाउन मुस्किल हुन्छ ।’ उनीहरुलाई सरकारले तोकेको भन्दा कम मुल्यमा काम गर्नुपर्ने बाध्यता छ । काम खोज्दै त्रिभुवन चौक पुग्ने अधिकांश मजदुर बाँके र बर्दियाका साथै भारतीयहरु पनि हुन्छन् ।

बाँके गनापुरका मिस्त्री कालुराम चौधरी भन्छन्, ‘कामै नपाउने भएपछि कम मुल्यमै काम गर्नुपर्ने बाध्यता छ । प्रायः सधैं कम मुल्यमै काम गर्ने हो ।’ कालुरामले महिनामा मुस्किलले १७–१८ दिन काम पाउने गरेको बताए । मजदुरका बारेमा बोलिदिने कोही नहुँदा आफूजस्ता धेरे मजदुरहरुलाई दैनिक रोजीरोटी चलाउनै मस्किल हुने गरेको उनको भनाई छ ।

बर्दिया मैनापोखरका शिवकुमार थारु भन्छन्, ‘निर्वाचनका बेला भोट माग्न आउने नेताहरुले अब मजदुरलाई मालिक बनाउँछौं भन्छन्, निर्वाचनपछि फर्किदैनन् ।’ कामको खोजीमा हरेक दिन ६ बजेदेखि १० बजेसम्म सडकमा बस्ने गरेको बताउँदै शिवकुमारले भने, ‘काम नपाएपछि रित्तो हात घर फर्किनुपर्छ ।’

बर्दियाको राजापुर घर भई नेपालगन्जमा भाडामा बस्दै आएकी रिमा चौधरीले महीनाभर ८-१० दिनमात्रै काम पाउने गरेको बताइन् । रिमाले भनिन्, ‘हरेकदिन बिहानै कामको खोजीमा आउँछौं कहिले काम पाइन्छ, कहिले खाली फर्किनुपर्छ ।’ कामदारको भीड लाग्ने ठाउँमा कुनै बस्ने ठाउँसम्म नभएको रिमाले बताइन् ।

उनले भारतबाट आउने कामदारहरुको संख्यामा बृद्धि हुँदै जाँदा काम पाउन समस्या भएको बताइन् । रिमा भन्छिन्, ‘बिहानैदेखि कामको खोजीमा मान्छे कुरेर बस्नुपर्छ ।’ नेपालगन्ज–१५ का रामचन्द्र यादवले काम पाइहाले पनि भनेअनुसार ज्याला नपाइने र पानीसम्म नखाएर काम गर्नुपर्ने बाध्यता रहे पनि मजदुरलाई कसैले नहेरेको गुनासो गरे ।

‘सडकमा उभिए ट्राफिकले लखेट्छ, पेटीमा बसे व्यापारीहरुले लखेट्छन्,’ उनले भने । यहाँ नेपालका मात्रै नभएर काम खोज्न आउने भारतीय मजदुरहरुको संख्या पनि उत्तिकै छ । भारतको बाबागन्जबाट काम खोज्नै नेपालगन्जको त्रिभुवन चोक पुगेका बब्लु मिस्त्रीले महिनामा १५ दिनमात्र काम पाए पनि बाँकी दिन खाली बस्नुपरेको बताए ।

उनी विगत ५–६ वर्षदेखि १६ किलोमिटर लामो दुरी पार गरेर हरेक दिन यहाँ पुग्छन् । भारतको बाबागन्जका रसिद अहमद पनि कालीगढको काम गर्दै आएका छन् । उनले न्यून रकममा काम गर्नुपर्ने बाध्यता सुनाउँदै भने, ‘यहाँ निश्चित ज्याला हुँदैन । ठेकेदारसँग बार्गेनिङ्गकै आधारमा ज्याला निर्धारण हुन्छ । कहिलेकाहीँ कमै ज्यालामा काम गर्नुपर्छ ।’

नेपालगन्ज उपमहानगरपालिकासँग मजदुरहरुको व्यवस्थापनका लागि कुनै योजना छैन । समस्या समाधनका लागि कुनै योजना नभएको बताउँदै नगर प्रमुख डा.धवलसम्शेर राणाले भने, ‘मजदुरहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, उनीहरुको समस्या समाधानका लागि आगामी दिनमा ठोस योजना बनाउँछौं ।’

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार ०९:१८